काठमाडौं := नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर मनोज प्रभाकर नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो ।
नेपाली क्रिकेट टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका प्रभाकरसँग अफगानिस्तान, रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेश टिमको प्रशिक्षक भई जिम्मेवारी सम्हालेको अनुभव छ ।
प्रभाकरलाई एक वर्षका लागि प्रशिक्षकको रुपमा अनुबन्ध गरिएको क्यानले जनाएको छ । सन् १९९९ मा खेल मिलेमतो गरेको विवादमा मुछिएका प्रभाकरलाई त्यतिबेला भारतीय टिममा खेल्न प्रतिबन्धसमेत लगाइएको थियो ।
यस्तै, प्रभाकरलाई दिल्ली क्रिकेट टिमले खेलाडी र छनोटकर्ताको विषयमा आलोचना गरेको भन्दै प्रशिक्षकबाट पनि हटाएको रेकर्ड छ । त्यसपछि प्रभाकर क्रिकेटबाट भारतीय राजनीतिमा प्रवेश गर्न खोजेका थिए । तर, सफल भएनन् ।




















