एजेन्सी := आयोजक कोलम्बियालाई पराजित गर्दै ब्राजिल लगातार चौथोपटक महिला कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको छ । घरेलु टोली कोलम्बियालाई १-० ले पराजित गर्दै ब्राजिल सर्वाधिक आठपटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको हो ।
ब्राजिल लगातार नवौँपटक फाइनलमा प्रवेश गर्दा आठपटक च्याम्पियन बनेको छ । ब्राजिल पाँचौँ संस्करणमा अर्जेन्टिनासँग पराजित भएको थियो। कोलम्बियास्थित स्टेडियो अलफन्सो लोपेजमा आइतबार बिहान भएको फाइनलमा ब्राजिलको जितमा डेविन्हाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो।
उहाँले ३९औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्नुभएको थियो । ब्राजिल अपराजित र एक गोल पनि नखाई च्याम्पियन बनेको छ । ब्राजिल समूह चरणको चार खेलमा १७ गोल तथा सेमिफाइनलमा दुई तथा फाइनलमा एक गोल गर्न सफल भयो।
तेस्रोपटक फाइनलमा पुगेको कोलम्बियाको च्याम्पियन यात्रामा ब्राजिल नै बाधक बन्यो । कोलम्बिया फाइनलको तीनै भेटमा ब्राजिलसँग नै पराजित भएको छ । त्यसअघि शनिबार पाराग्वेलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको छ ।
अर्जेन्टिनाकी यमिला रोड्रिग्वेज ६ गोलसहित सर्वाधिक गोलकर्ता बन्नुभयो । कोलम्बियाकी लिन्डा काइसेडो सर्वाेत्कृष्ट खेलाडी चुनिनुभयो । आठ जुलाईबाट सुरु भएको कोपा अमेरिका फेमेनिनामा कन्वेवलका १० टोलीले सहभागिता जनाएका थिए । समूह चरणपछि शीर्ष दुई टोलीले सेमिफाइनल खेलेका थिए ।




















