काठमाडौं := अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।
संसदमा सम्बोधनका क्रममा शर्माले बजेट निर्माणमा कुनै त्रुटि नभएको जिकिर गरेका थिए । तोकिएका अधिकारिक व्यक्तिहरुमार्फत बजेट निर्माण गरेको भन्दै उनले भने, ‘करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई सचिव र डिजीहरुलाई नितिगत निर्देशन गरेको हुँ।’
आफूले सचिव र बजेट निर्माणसँग सम्बन्धित मन्त्रालयका महाशाखाका प्रमुख डिजीहरुलाई नीतिगत निर्देशन दिएर राति साढे ११ बजे मन्त्री क्वार्टर गएर सुतेको बताए । उनले अघि भने, ‘मेरो निर्देशनपछि उहाँहरुले रातभर काम गर्नु भएको छ । म साढे ११ बजे सिंहदरबारबाट पुल्चोक क्वार्टरमा गएर सुतेको छु, विहान ६ बजे मन्त्रालयमा पुगेको छु । सचिव सोफामा पल्टिरहेको, डिजीहरुले टुंग्याउने अवस्थामा पुगेको मैले देखेको छु ।’
‘मेराे राजीनामा माग्ने नागरिक समाज, युवा पङ्क्तिलाई धन्यवाद । मैले गल्ती गरेकाे छैन । तथ्यमा गइदिनुहाेला धन्यवाद’, अर्थमन्त्री शर्माले भन्नुभयाे। राजनीतिक रुपमा आफूलाई बद्नाम गर्न खोजिएको भन्दै उनले छानबिन गर्न चुनौती समेत दिए ।




















