महिला साफ (दक्षिण एसियाली फुटबल) च्याम्पियनसिप नेपालमा आयोजना हुने।

काठमाडौं:= महिला साफ (दक्षिण एसियाली फुटबल) च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बंगलादेशमा बसेको विशेष साधारणसभाले नेपालले राखेको प्रस्तावलाई स्वीकार गरेपछि महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने पक्का भएको हो ।

नेपालले प्रस्ताव गरेको मिति भदौ १३ देखि २५ (अगस्ट २९ देखि सेप्टेम्बर १०) गतेसम्म साफ च्याम्पियनसिप हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको नेतृत्वमा नेपाली टोलीले साफको साधारणसभामा सहभागिता जनाएको थियो । नेपाली टोलीले काठमाडौंमा प्रतियोगिता आयोजना गर्ने गरी गरेको प्रस्ताव साफले स्वीकार गरेको हो ।

नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ विराटनगरमा आयोजना गरेको थियो । जसमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । साफ कंग्रेसमा सहभागी हुन महासचिव राईको नेतृत्वमा तीनसदस्यीय टोली बिहीबार ढाका प्रस्थान गरेको थियो ।

एन्फा सदस्य विकासनारायण श्रेष्ठ र न्युरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी सहभागी हुनुहुन्थ्यो। यस्तै साधारणसभाले पुनः साफको अध्यक्षमा बंगलादेशका काजी मोहम्मद सलाहुद्दीनलाई निर्विरोध निर्वाचित गरेको छ । उहाँ अब २०२६ सम्म साफको नेतृत्वमा रहनुहुनेछ ।

यस्तै साधारणसभाले भुटान फुटबल फेडेरेसनका उगेन वाङ्चुकलाई साफको कार्यकारी सदस्य र श्रीलंका फुटबल महासंघका अध्यक्ष जसवर उमरलाई साफको प्रतिनिधित्व गर्ने एएफसी कार्यकारी समितिको सदस्यमा नियुक्तसमेत गरेको छ। त्यस्तै साफ अनुशासन तथा आचारसंहिता र साफ आचारसंहिता पनि कार्यकारी समितिबाट स्वीकृत भएको छ ।