मलेसियाबाट अवैधानिक श्रमिक घर फर्किन मिल्ने बाटो बन्द,देश ब्यापी छापामारी, धरपकड सुरु।

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले यहाँ अवैधानिक हैसियतमा रहेका नेपालीसंगै विदेशी कामदारलाई स्वदेश फर्किन रिक्यालिब्रेशन पुलाङ सञ्चालनमा ल्याइ दिइएको  समयाअवधी यहीँ बर्ष सन् २०२२ को जुन ३० तारिख अर्थात बिहीवार राती १२:०० बजेपश्चात सकिएको छ।

अब मलेसियामा लुकीछिपी काम गरिरहेका,बसि रहेका घर फर्किन बाँकी अवैधानिकलाई घर फर्किन थप मौका पनि नदिने र म्याद पनि नथप्ने आजैदेखि ठाउँ – ठाउँमा सर्च अप्रेसन सुरु गरि पक्राउ गरेर कडा कारवाही गरिने मलेसिया सरकारका गृहमन्त्री दातोक श्री हमजाह जैनुद्धिनले स्पष्ट रुपमा सरकारको तर्फबाट धारणा सार्वजनिक गरिसकेका छ्न।

करिब डेढ बर्षसम्मनै सञ्चालनमा आएको रिक्यालिब्रेशन पुलाङ अर्थात स्वच्छिक रुपमा सजिलैसित ५ सय रिंगेट जरिवाना तिरेर आफ्नो देश घर फर्किन मिल्ने कार्यक्रममार्फत ७ हजार जना अवैधानिक नेपाली कामदारहरु दूतावासमार्फत यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट१) बनाएर  स्वदेश फर्किएको मलेसिया स्थित नेपाली दूतावासका द्धितिय सचीव तथा सुचना प्रमुख प्रतीक कार्कीले जानकारी दिनूभयो।

यस् कार्यक्रम मार्फत डेढ बर्षको अवधीमा मलेसियाबाट जम्माजम्मी २ लाख ८२ हजार भन्दा बढी अवैध आप्रवासी विदेशी कामदार जरिवाना रकम तिरेर सजिलैसित स्वेच्छिक रूपमा आफ्नो स्वदेश फर्किएको मलेसियाली अध्यागमन बिभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

रिक्यालिब्रेशी पुलाङको अवधी सकिएलगत्तै सरकारले इमिग्रेशन प्रहरीको सहायतामा यहाँ अटेरी गरि अवैध हैसियतमा बस्ने घर नफर्किने अवैधानिक विदेशी कामदारलाई धरपकड , पक्राउ गर्ने र डिपोर्ट गर्ने कार्यलाई तीव्रता दिइएको पाइएको छ।

आज जुलाई १ तारिख बिहानको समयदेखीनै सेलाङ्गर , क्वालालम्पुर , जोहोरबारु , केलान्तान , सारावाक , तेरेङगानु लगायतको सबै राज्यमा अवैधानिक विदेशी कामदार बसोबास गर्ने होस्टेल , फ्ल्याट , अपार्टमेन्टहरुमा छापामारी गरि पक्राउ गर्न सुरु गरिसकेको अध्यागमन बिभागले जनाएको छ।