राज्यमन्त्रीकाे उदण्डता: जब ‘मेरो पोइ खै’ भन्दै पिट्न थालिन्।

तुलसीपुर:= बिहानको साढे ८ बजेको थियो । लु १ झ ५३७ नम्बरको सरकारी गाडी झन्डा हल्लाउँदै एकराज बस्नेतको घरमा पुग्यो । गाडीबाट झरिन् लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली।

स्थानीयले सोचे ‘मन्त्रीज्यू भेटघाटमा आउनु भो ।’ घरधनी एकराज बस्नेतकी श्रीमती मीना बस्नेतको अगाडि पुगेपछि मन्त्री वलीले अनपेक्षित प्रश्न गरिन्, ‘मेरो पोई खै रु’ मन्त्री वली त्यतिमै रोकिइनन् । उनले मीनालाई मुक्का प्रहार गरिन् । नजिकै रहेकी पाँच वर्षकी छोरी एन्जिलालाई पनि प्रहार गरिन् ।

राज्यमन्त्री वलीको प्रहारबाट मीनाको टाउको, शरीरका विभिन्न भागमा भित्री चोट छ भने कपडासमेत च्यातिएको छ । छोरी एन्जिलाको ओठ काटिएको छ । एकराजलाई पैसा दिएर कपडा किनिदिएको भन्दै राज्यमन्त्री वलीले ‘मैले किनिदिएको कपडा मै लैजान्छु,’ भन्दै दराज तोडफोड गरिन् । मिनालाई मुक्का प्रहार गरेपछि राज्यमन्त्री वलीले फेरि भनिन्, ‘मेरो एकराज खै छिटो देखा ।’ एकराज १५ दिनदेखि घरमा नभएको परिवारका सदस्यको भनाइ छ ।

बस्नेत माओवादी कार्यकर्ता हुन् । एक वर्षअघि बस्नेतले वलीलाई चुम्बन गरेको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । राज्यमन्त्री वलीले एकराज आफ्नो प्रेमी भएको दाबी गर्दै आएकी छन् । के भन्छन् स्थानीय ? ‘बिहान सरर गाडी आयो । हामीले कोही केही कामले आएको होला भन्यौं,’ छिमेकी रचना बुढाथोकीले भनिन्, ‘एकछिनपछि चिच्याएको आवाज सुनियो ।

एन्जल रुँदै मामुलाई मारे भन्दै मलाई तान्न आइन । म झटपट भित्र गएँ ।’ रचनाका अनुसार राज्यमन्त्री वली ‘एकराजको र मेरो विवाह भइसकेको छ । सिन्दुर हालेको फोटो गाउँको घरमा राखेको छु,’ भन्दै मिनालाई धकेल्दै थिइन् । ‘म डरले बस्न सकिनँ, निस्की हाले, पछि मीनाको जेठाजु, ससुरा र अन्य मान्छे आए । प्रहरी पनि आपछि राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो,’ रचनाले भनिन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।