रुपन्देही बस दुर्घटना अपडेट: मृत्यु भएका ९ जनामध्य ७ जनाको सनाखत।

बुटवल:= रुपन्देहीको रोहिणी गाँउपालिका-३ मा आज बिहान बस दुर्घटना परी मृत्यु भएका ९ जनामध्ये ७ जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित २४ जना घाइते भएका छन्।

मृत्यु हुनेमा बुटवल-६ का ४० बर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ का अन्दाजी ५६ बर्षीय विष्णु पौडेल, रौतहटको चन्द्रनिगाहपुर बस्ने अन्दाजी २० बर्षीय दिनेश दास, बुटवल-११ कालिकानगरका अन्दाजी ४१ बर्षीय कृष्ण प्रसाद बस्याल, ओमसतिया गाँउपालिका-४ का अन्दाजी ६५ बर्षीय राजेन्द्र पाण्डे, रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ की ३७ वर्षीया तुल्सी बस्याल र बुटवल-६ का ५० वर्षीय नागेन्द्र शर्मा रहनुभएको छ ।

दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान साढे ४ बजे अनियन्त्रित भएर रोहिणी पुलबाट तल खसेको थियो ।

दुर्घटनामा चालकसहित घाइते भएका सबैलाई उपचारको लागि भैरहवास्थित युनिभर्शल कलेज अफ मेडिकल साइन्स अस्पताल पठाइएकोमा उपचारकै क्रममा नौ जनाको मृत्यु भएको थियो । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।