सरकारमा रहेका एकीकृत समाजवादीका प्रेम आले लगायतका मन्त्रीहरु फिर्ता!

काठमाडौं:= नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरुको हेरफेरको विषयमा छलफल भएको छ ।

आइतबार बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर अध्‍यक्ष माधव नेपालले निर्णय गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो उहाँहरूसँग शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं । कति हेरफेर गर्ने उहाँहरूले नै गर्नुहुन्छ ।’

उपमहासचिव तुलाधरले पार्टीले मन्त्री हेरफेरको निर्णय गरे मन्त्रीहरुले मान्‍नु पर्ने बताउँदै भन्नुभयो, ‘ पार्टीले आवश्‍यकता ठानुन्जेल उहाँहरु मन्त्रीको रुपमा रहनुहुन्छ। पार्टीले अर्को आवश्‍यकता ठान्‍यो र फिर्ता बोलायो भने उहाँहरु यसलाई स्वभाविक रुपमा लिनुपर्छ। र नयाँ जानेवालाहरु पनि यसलाई स्वाभाविक रुपमा लिनुहुन्छ। ‘

नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री विरोध खतिवडा,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले,शहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ छन्। आजको बैठकले उनीहरु सबैलाई फिर्ता बोलाउने निर्णय गरेको हो।