विश्व बैंकले श्रीलङ्कालाई ७० करोड डलर रकम दिने।

एजेन्सी:= बैंकले आगामी केही महिनाभित्र श्रीलङ्कालाई करिब ७० करोड अमेरिकी डलर उपलब्ध गराउन लागेको श्रीलङ्काका विदेशमन्त्रीले सोमबार  जनाकारी दिएका छन्।

कोलम्बोमा रहेको विश्व बैंकका  देशीय प्रबन्धक चियो कान्डाले श्रीलङ्काका विदेशमन्त्री जीएल पेरिससँग कुराकानी गर्दा  सो प्रतिबद्धता  व्यक्त गरेको  बताइएको  छ।

भेटमा मन्त्रीले अन्तरराष्ट्रिय मुद्रा कोष, अन्य अन्तरराष्ट्रिय संस्था र दातृ राष्ट्रमार्फत दीर्घकालीन सहायता उपलब्ध नहुन्जेल विश्व बैंकसँग सहयोग मागेका थिए। मन्त्रीले अर्थतन्त्रको दिगो समाधान नआएसम्म विश्व बैंकको अल्पकालीन आर्थिक सहयोगको कदर गरिने बताएका छन्।

विश्व बैंकका देशीय  प्रबन्धकले उनको कार्यालयले एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र संयुक्त राष्ट्रसंघको कार्यालय जस्ता अन्य संस्थाहरूसँग पनि श्रीलङ्काको  बिग्रिँदो अर्थतन्त्र सुधारका निम्ति काम गरिरहेको बताएका छन्।

हाल श्रीलङ्काले चरम विदेशी मुद्राको अभावको सामना गरिरहेको छ जसले अत्यावश्यक वस्तुहरू आयात गर्न समस्या  निम्त्याएको छ। रासस/सिन्ह्वा