फेसबुकको मेटाभर्समा पनि यौन हिंसा भयो, नकारात्मक कुरा कम गर्न योजना बनाउनुपर्छ।

एजेन्सी:= समअफअस समूहले फेसबूकको कम्पनीले मेटाभर्समा नकारात्मक कुरा कम गर्न योजना बनाउनुपर्ने बताएको छ । कम्पनीहरूको उत्तरदायित्व विषयमा काम गर्ने यस समूहले आफ्नो एक अध्ययनकर्तामाथि यौन हिंसा भएको भन्दै मेटाभर्समा नकारात्मक कुरा कम गर्न योजना बनाउनुपर्ने बताएको हो ।

समअफअस समूहले मेटाको भर्चूअल रियालिटी सेवा होराइजन वल्ड्र्समा एक २१ वर्षीया अध्ययनकर्ताको अवतारमाथि यौन हिंसा भएको बताएको हो । तर, मेटाले भने होराइजन वल्ड्र्समा प्रयोगकर्ताका लागि ‘सकारात्मक अनुभवका लागि’ सुरक्षाका उपायहरू भएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

समअफअसको पूर्ण प्रतिवेदन हेर्न नपाएको बताउँदै प्रयोगकर्ताहरूले उक्त सुरक्षाका उपायहरू अपनाऊन् भन्ने कम्पनीको इच्छा रहेको एक प्रवक्ताले उल्लेख गरेका छन् । यसका साथै उनले यस्ता घटनाहरू अनुसन्धान तथा कारबाही गर्न आफूलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

अहिले अमेरिका र क्यानडामा मात्रै उपलब्ध होराइजन वल्ड्र्समा प्रयोगकर्ताहरू आफ्नो कार्टूनजस्तो अवतार बनाएर भर्चूअल रियालिटीमा सहभागी हुन सक्नेछन् । समअफअस समूहकी अभियान निर्देशक भिक्की वायटले भर्चूअल संसारमा हुने उत्पीडन पनि पीडादायक हुने बताएकी छन् । उनले प्रयोगकर्तामा यसको साँच्चै प्रभाव पर्ने उल्लेख गरेकी छन् ।

निर्देशक भिक्कीले भनेकी छन्, ‘पीडित अध्ययनकर्ता यो साँच्चिकै शरीर होइन, त्यही भएर केही हुन्न भन्ने सोच्दासोच्दै पनि स्तब्ध भएकी छन् ।’ साथै उनले अध्ययनका लागि महत्वपूर्ण हुने भन्दै त्यसको भिडिओ रेकर्ड गरेकी पनि बताएकी छन् ।

बीबीसीले हेरेको उक्त भिडियोमा अध्ययनकर्ताको दृष्टिबाट हेरिएको सामग्री भएको कारण उनको अवतार नदेखिएता पनि कोठामा दुई पुरुष अवतारहरू देखिन्छन् । जसमध्ये एक जना उनको निकै नजिक छन् भने अर्काले अलि परबाट हेरिरहेका देखिन्छ ।

उक्त पुरुषहरूले महिलाबारे अश्लील शब्द बोल्दै भर्चूअल मद्यपान गरिरहेको पनि देख्न सकिन्छ । ती दुई पुरुषले अनुसन्धानकर्तालाई व्यक्तिगत सीमा नतोक्न प्रोत्साहित गर्नुका साथै समलिङ्गी गाली र भर्चूअल बन्दुक प्रयोग भएको हिंसा भएको पनि समअफअसले जनाएको छ ।

मेटाभर्स पूर्ण नभएको र विकसित भइरहेको प्रविधिको रुपमा लिइन्छ । यसले भर्चूअल रियालिटी र अग्मेन्टिड रियालिटीजस्ता पुराना प्रविधिलाई पनि प्रयोग गर्छ । यसभित्र खेल्ने वा कुराकानी गर्ने जस्ता थुप्रै थ्रीडी भर्चूअल स्थानहरु रहेका छन् ।

पछिल्लो समय कयौं मेटाभर्समध्ये होराइजन वल्ड्र्स मात्रै मेटाको हो, जहाँ मेटाले करौडौँ डलर खर्च गरिरहेको छ । मेटाले प्रयोगकर्ताहरूले अरू प्रयोगकर्ताको गलत व्यवहारबारे रिपोर्ट गर्न मिल्ने सुविधाहरू पनि उपलब्ध गराएको छ । (बीबीसीको सहयोगमा)