एजेन्सी := अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको ज्यान गएको छ । एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १४ जना विद्यार्थी मारिएका टेक्सस राज्यका गभर्नर ग्रेग याबटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। गोली चलाउने १८ वर्षका युवकको पनि ज्यान गएको छ । राष्ट्रपति जो बाइडनले ज्यान गुमाएकाहरुको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिनुभएको छ।
प्रहरीका अनुसार मारिने विद्यार्थी दोस्रो, तेस्रो र चौथो कक्षामा रहेका बालबालिकाहरू रहेका छन् । उभाल्देमा भएको गोलीबारी मे महिनामा संयुक्त राज्य अमेरिकामा भएका धेरै सामूहिक गोलीबारी मध्ये एक हो। गन वाइलेन्स आर्काइभले सामूहिक गोलीबारीलाई चार वा बढी व्यक्ति घाइते वा मारिएको घटना भनेर परिभाषित गर्दछ । संस्थाले यस वर्ष मेको मध्यदेखि हालसम्म २१५ वटा यस्ता गोलीकाण्डहरू रेकर्ड गरेको छ ।




















