एजेन्सी:= यो सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको खेलमा एस्टन भिल्लालाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि सिटीले हात पारेको हो ।
सिजनको अन्तिम खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटी च्याम्पियन बन्यो । एक समय २-० ले पछि परेको सिटी उपाधि गुमाउने संघारमा रहेको थियो । तर, खेलकाे अन्त्यतिर सिटीले सानदार पुनरागमन गरे ।
३७औं मिनेटमा मट्टी कसले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा फिलिप कोउटिन्होले गोल गर्दै भिल्लाको अग्रता दोब्बर बनाएका थिए ।
त्यसपछि सिटीले पाँच मिनेटमा तीन गोल गर्यो । ७६औं मिनेटमा इल्काए गुन्डोगनले गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिलाए । त्यसको दुई मिनेट नबित्दै सिटीले बराबरी गोल पनि फर्कायो ।
७९औँ मिनेटमा रोड्रीले गोल गरेपछि खेल बराबरीमा आएको थियो । ८१औँ मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई ३-२ को अग्रता दिलाए । त्यसपछि दुवै टाेलीबाट थप गाेल हुन नसक्दा खेल सिटीले जित्याे ।
यता अर्को खेलमा तेस्रो मिनेटमा नै लिभरपुल पछि परेको थियो । पेड्रो नेटोले गोल गर्दै वल्भ्सलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
८४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ८९औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे । तर, उपाधि भने हात पार्न सकेन ।
दुवै टोलीले जित हात पारेपछि सिटी १ अंकको अग्रतासहित लिग च्याम्पियन बन्न सफल रहयो । समग्रमा सिटी ३८ खेलमा ९३ अंक जोड्दै उपाधि जोगायो । लिभरपुल भने ९२ अंकसाथ दोस्रो भयो




















