राष्ट्रसङ्घका महासचिव युक्रेनको राजधानी किभमा भएकै बेला दुई रुसी क्षेप्यास्त्र प्रहार।

एजेन्सी:= संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरस युक्रेनी राजधानीको भ्रमणमा रहेका बेला रुसले किभमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ । किएभका मेयर भिताली क्लित्स्कोले क्षेप्यास्त्रले केन्द्रीय डिस्ट्रिक्टमा अवस्थित एउटा २५ तल्ले भवनलाई निशाना बनाएको र कैयौँ मानिसहरू घाइते भएको बताएका छन् ।

घटनास्थलमा रहेका एकजना आन्तरिक मामिला सल्लाहकार एन्टोन हेरासचेन्कोले क्रुज क्षेप्यास्त्रको इन्जिनको तस्बिरलाई पोस्ट गर्दै त्यो क्राइमियाबाट प्रहार गरिएको उनले बताए ।राष्ट्रपति जेलेन्स्कीले उक्त आक्रमणले विश्व सङ्गठनप्रतिको रुसी वास्तविक धारणालाई उजागर गरेको र त्यसप्रति कडा प्रतिवाद हुनु आवश्यक रहेको बताएका छन् ।

उनले किएभ र अन्य शहरमा गरिएका क्षेप्यास्त्र हमलाले आफूहरूलाई आरामले बस्न नमिल्ने प्रस्ट पारेको बताए। संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरसले युक्रेनको द्वन्द्व रोक्न वा अन्त्य गर्न विफल भएकोमा आफ्नै सङ्गठनको सुरक्षा परिषद्को आलोचना गरे ।

किएभमा बोल्दै उनले त्यो ठूलो खिन्नता, निराशा र क्रोधको कारक रहेको बताए । उनले भने, ‘म प्रस्ट भन्न चाहन्छु आफ्नो सामर्थ्यका हिसाबले (त्यो) यो युद्ध रोक्न र नियन्त्रण गर्न सबै कुरामा विफल रह्यो ।’

राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा १५ सदस्य राष्ट्र छन् र उक्त परिषद्को मूल जिम्मेवारी भनेको विश्वव्यापी रूपमा शान्ति र सुरक्षा कायम गर्नु रहेको छ । तर गएको फेब्रुअरीमा रुसले अतिक्रमण सुरु गरे यता कदम चाल्न विफल भएको भन्दै युक्रेन सहितले उक्त निकायको आलोचना गरिरहेका छन् ।