काठमाडौं := सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा पदोन्नति भएका ७२ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको यही वैशाख १५ गतेको निर्णयले उहाँहरु डिएसपीमा पदोन्नति भएका थिए । महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई बधाई दिँदै कार्य सफलताको शुभकामना दिए । उने सङ्गठनमा रहेर उनीहरुले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्याङ्कनस्वरूप पदोन्नति प्राप्त भएको बताए।

दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढी क्रियाशील भई कार्य सम्पादनमा जुट्न निर्देशन दिँदै केसीले कमाण्डर तहका अधिकृतहरुले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सही मार्ग निर्देशन दिनुपर्नेमा जोड दिए ।
महानिरीक्षक केसीले पदोन्नति वृत्ति विकासको महत्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रमा परिचालन हुँदा अझै बढी अनुशासित, लगनशील र इमान्दारीपूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध हुन पनि निर्देशन दिए।



















