श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली आज मलेसिया आउँदै।

क्वालालम्पुर (मलेसिया):= श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली आज (बुधबार) मलेसिया आउँदैछ्न। मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उनी चार दिने मलेसिया भ्रमणमा आउन लागेको मन्त्रालयको सचिवालयले जनाएको छ।

मन्त्री श्रेष्ठका साथमा सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसालसहितको टोली आज दिउँसो मलेसिया आउने कार्यक्रम रहेको जनाइएको छ।
मलेसिया नेपाली श्रमिकहरुको प्रमुख श्रम गन्तव्य मुलक मध्यका रुपमा रहेकोले पनि भ्रमण खास बन्ने जनाइएको छ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् भने सचिव अर्यालले मलेसियाको गृह मन्त्रालयका सचिव र सामाजिक सुरक्षा सङ्गठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल-मलेसिया संयुक्त समितिको बैठकका एजेण्डा तय गरिनेछ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने र श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यान्वयनका विषयमा नेपाली प्रतिनिधिमण्डलले छलफल गर्ने मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ। केहि दिन अगाडिदेखिनै मन्त्री श्रेष्ठ खाडी मुलुकको भ्रमणमा गएका थिए, भने त्यहाँ स्थित नेपाली नियोग र श्रमिक साथै सरोकारवाला निकायहरुसंग छलफल अन्तरक्रिया गरिरहेका छ्न।