रुसी विदेशमन्त्रीद्वारा तेस्रो विश्वयुद्ध सुरु हुन सक्ने चेतावनी।

मस्को:= रूसी विदेशमन्त्री सर्गेई लाभरोभले तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिनुभएको छ । उहाँले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिनुभएको हो ।

लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीसँग कुरा गर्दै शान्ति वार्तामा युक्रेनको दृष्टिकोणको आलोचना गरेको मस्को टाइम्सले उल्लेख गरेको छ। उहाँले भन्नुभयो, ‘सद्भावनाको सीमा हुन्छ । यदि यो पारस्परिक छैन भने यसले वार्ता प्रक्रियालाई मद्दत गर्दैन।’

यसैबीच रूसले मारियुपोल शहरको अजोभस्टल स्टिल कारखाना वरिपरि युद्धविरामको घोषणा गरेको छ । सो क्षेत्रमा फसेका सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जान सहयोग गर्न युद्धविराम घोषणा गरिएको रूसी रक्षा मन्त्रालयले जनाएको छ।

एकतर्फी रूपमा युद्धविराम गरेको रूसी सेनाले सर्वसाधारणलाई बाहिर निकाल्ने मार्ग सुनिश्चित गर्ने बताइएको छ ।रूसले गत फेब्रुवरी २४ बाट युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । रूसले युक्रेनका सम्पूर्ण संरचनालाई ध्वस्त पारेको छ । सधै चहलपहल रहेने युक्रेनी शहरमा मसाटघाट जस्तै सन्नाटा छाएको छ ।