काठमाडौं:= सत्तारूढ पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले गत चैत १७ गते आगामी स्थानीय तह निर्वाचनमा देशैभर चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेका थिए । तालमेललाई सहज बनाउन गठबन्धनले स्थानीय तहसम्मै पाँच दलीय संयुक्त संयन्त्र पनि निर्माण गरेको थियो । केन्द्रमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा पाँचै दलका दोस्रो तहका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समिति बनायो ।
तर, तालमेललाई कार्यान्वयन गर्न अनेकन प्रयास गरे पनि सत्ता गठबन्धन महत्वपूर्ण स्थानमा समेत निर्णय कार्यान्वयन गर्न असफल भएको छ । केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेका ६ वटा महानगर र ११ वटा उपमहानगरमा समेत अधिकांश ठाउँमा गठबन्धन दलहरूबाटै स्वतन्त्र उम्मेदवारी परेको छ । कतिपय स्थानीय तहमा त केन्द्रको निर्णयविपरीत गठबन्धन बाहिरको दल नेकपा एमालेसँग तालमेल गरेर उम्मेदवारी दर्ता भएको छ ।
गठबन्धनका दलहरूबीच तालमेल गर्ने विषय सुरु भएदेखि नै सबैभन्दा विवाद र चर्चामा रहेको चितवनको भरतपुर महानगरमा गठबन्धनले साझा उम्मेदवार उठाउने सहमति ग¥यो । केन्द्रमा भएको सहमतिअनुसार भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराउनुभयो । तर, चुनाव सुरुदेखि नै चुनावी तालमेलप्रति असन्तुष्ट नेपाली कांग्रेस चितवनका नेता एवं पूर्व–सांसदसमेत रहनुभएका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कास्कीको पोखरा महानगरपालिकामा त स्वतन्त्र उम्मेदवारको लर्को नै लाग्यो । केन्द्रको निर्णयअनुसार पोखरा महानगरको मेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराउनुभयो । तर, पोखरा महानगर नेकपा एसको भागमा पार्ने केन्द्रको निर्णयप्रति आक्रोशित नेपाली कांग्रेस कास्कीका तीनजना नेता नन्दप्रसाद तिवारी, विमल कार्की र ऋषि सापकोटाले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । विराटनगर महानगर मेयरमा पनि जसपा नेता उमेश यादवले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
गठबन्धनबाट मेयरमा नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । ललितपुर महानगरमा कांग्रेस नेता सुविनकुमार शाक्यले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । गठबन्धनबाट मेयरमा कांग्रेस नेता चिरीबाबु महर्जन र उपमेयरमा माओवादीका नेता बाबुराज बज्राचार्यको उम्मेदवारी दर्ता भएको छ । एकीकृत समाजवादीले तालमेलविपरीत मेयर उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ । मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यले उम्मेदवारी दर्ता गराउनुभएको हो । बुटवल उपमहानगरमा गठबन्धनको एक घटक जसपाले मेयर र उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएको छ । मेयरमा सुरज हिताङ उपमेयरमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो । बुटवल महानगरमा गठबन्धनबाट मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा परेको थियो ।
हेटौँडा उपमहानगरमा पनि जसपाले मेयरमा दिमा लामा र उपमेयरमा हरिहर खतिवडाको उम्मेदवारी दर्ता गराएको छ । मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेसको भाग पनि परे पनि जसपाले स्वतन्त्र उम्मेदवार उठाएको हो । यस्तै, धनगढीमा जसपाले नै मेयरमा कवीन्द्र ऐर उपमेयरमा ननकली रानाको उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनको तर्फबाट धनगढी उपमहानगरमा मेयर कांग्रेस र उपमेयर माओवादीले उम्मेदवार उठाउने सहमति भएको थियो । जनकपुर उपमहानगरमा कांग्रेसका मनोजकुमार साहले मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । जनकपुर उपमहानगरमा मेयरमा जसपा उपमेयर कांग्रेसको भागमा परेको थियो । महानगर र उपमहानगर मात्रै होइन अन्य पालिकामा पनि स्वतन्त्र उम्मेदवारी परेका छन् ।
एमालेसँग तालमेल गर्न गठबन्धनका दलहरूको तँछाडमछाड
गठबन्धनका सदस्य दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने केन्द्रको निर्णयविपरीत हुम्लाको चंखेली गाउँपालिकामा एमाले र नेकपा एसबीच तालमेल भएको छ । चंखेलीको अध्यक्षमा एमालेबाट र उपाध्यक्षमा समाजवादीबाट उम्मेदवारी परेको छ । एमालेसँग सदस्य दलहरूले तालमेल नगर्ने औपचारिक निर्णय गरे पनि उम्मेदवारी मनोनयन दर्ताको क्रममा गठबन्धनका सदस्य दलहरूले एमालेसँग तालमेल गर्न तँछाडमछाड नै गरे प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि माओवादी केन्द्र पनि नेकपा एमालेसँग तालमेल गर्न पुग्यो ।
गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चामा सहमति नभएपछि एमाले-माओवादी मिलेर उम्मेदवारी दर्ता गरे । गठबन्धनका सहयात्री दललाई मिलाउन नसकेपछि नेपाली कांग्रेस पनि एमालेसँग तालमेल गर्न बाध्य भयो । रोल्पाको माडी गाउँपालिकाको अध्यक्षमा एमालेका विजय घर्तीमगर र उपाध्यक्षमा कांग्रेसका कृष्ण विकको उम्मेदवारी दर्ता भयो ।
कांग्रेस र एमालेले वडामा समेत तालमेल गरेर उम्मेदवारी दिएका छन् । सल्यानको कुमाख गाउँपालिकामा पनि कांग्रेस र एमालेबीच गठबन्धन बन्यो । अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर बुढाथोकी र उपाध्यक्षमा एमालेका लालबहादुर राउतले उम्मेदवारी दर्ता गर्नुभयो । भोजपुरको आमचोक गाउँपालिकाका वडामा पनि कांग्रेस र एमालेबीच तालमेल भएको छ । उक्त गाउँपालिकामा एमाले र कांग्रेस मिलेर १० वटा वडा बाँडफाँट गरेका छन् । यस्तै, कांग्रेस र एमालेबीच भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा समेत तालमेल भएको छ ।
आफूखुसी दिएका उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको छ : गुरुङ
सत्तारूढ गठबन्धनको घटक माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले सत्तारूढ दलहरूले स्थानीय तह निर्वाचनका लागि आफूखुसी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको जानकारी दिनुभएको छ । सत्तारूढ दलहरूबीचको सहमतिविपरीत पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता भएको उल्लेख गर्दै माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतकसमेत रहनुभएका नेता गुरुङले भन्नुभयो, ‘उम्मेदवारी फिर्ता लिने बेलासम्म छलफल गर्दै लगेर वडास्तरमा पनि सहकार्य गर्न सके हुन्थ्यो भन्ने ढंगले काम गरिराखेका छौँ ।
कतिपय पालिका र वडास्तरमा दलहरूले आ–आफ्नो दलको नोमिनेसन गराएका छन् । तर, संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भइरहेको छ । कथमकदाचित त्यो भएन भने पनि प्रतिगमन र पश्चगामी शक्तिहरूलाई हाबी हुन नदिने गरी हामी अन्य दलसँग सहकार्य गरेर अघि बढ्न तयार छौँ ।’




















