मन्त्र शुद्ध अर्गानिक नेपाली चलचित्र हो: सौगात मल्ल।

काठमाडौं:= अभिनेता सौगात मल्ल अभिनित नयाँ नेपाली चलचित्र ‘मन्त्र’ यही वैशाख १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसैक्रममा अहिले चलचित्र टिमले चलचित्रको प्रमोशन तीव्र रूपमा अगाडि बढाइरहेको छ ।

चलचित्रको प्रमोशनका क्रममा अभिनेता सौगात सञ्चारकर्मीसँग सात्क्षात्कार गरिरहेका छन् । यसैबीच सौगात ‘मन्त्र’ एउटा अर्गानिक चलचित्र बनेको कुरामा ढुक्क देखिनु भएको छ । पोष्ट प्रोडक्सनको क्रममा आफूले दुई पटक चलचित्र हेरिसकेको उहाँले जनाउनुभएको छ ।

उहाँ आफूले चलचित्र उत्कृष्ट बनेको पाएकोले नै दर्शकलाई पनि सोही कन्फिडेण्टका साथ चलचित्र ‘मन्त्र’ हेर्न आग्रह गरेको बताउनुहुन्छ । हिमाली भेगको कथा चलचित्रले भनेको छ । चलचित्रलाई हिमाली प्रेमकथा पनि भनिएको छ । सौगात गोठालोको भूमिकामा हुनुहुन्छ ।

त्यसो त सौगातका लागि मन पर्ने मौसम पनि चिसो हो । यसअर्थ मनास्लु हिमाल आसपास छायांकन गर्दा उहाँलाई मौसमका कारण खासै कठिनाई भएन । यसअघि सौगातले चलचित्र कागबेनीमा हिमाली भेगमै छायांकन सकाएका थिए । उहाँ सोही अनुरूपको पात्रमा देखिनु भएको छ । यसअर्थ ‘मन्त्र’का लागि आफ्नो भूमिका विकसित गर्न उहाँलाई थप सहयोग भयो ।

सौगातले ‘मन्त्र’लाई आफूले अहिले गरिरहेका भन्दा भिन्न कथाको चलचित्र भन्नुभएको छ । यसमा हिमाली स्वाद पनि पाइने उहाँको जिकिर छ । आफूले गरेको पछिल्लो समयका सबै चलचित्रभन्दा ‘मन्त्र’ ले आफ्नो मन छोएको उहाँले बताउनुभयो । खिलबहादुर गुरुङ निर्देशित चलचित्रमा सौगातका अलवा दिया पुन, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।

सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुनुहुन्छ । मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाँकन गरिएको चलचित्रमा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन र मित्र डि.गुरुङको सम्पादन छ ।