[ एकेन्द्र खत्री ]
अछाम:= अछामको रामारोशन-५ का जनक साउद २०७७ साल भदौ २ गतेको त्यो रात सम्झनै चाहनुहुन्न । त्यही रात हो उहाँको परिवारका पाँच जनाको एकै चिहान बनाएको । ‘त्यो रातमा के भएको थियो कसरी भनूँ, उहाँले भन्नुभयो ‘मेरो सबै खुसी लुटिएको रात हो ।’ जनकको परिवारसहित कैलाश खोलामा आएको बाढीले १७ जनाको ज्यान लियो, तीमध्ये नौ जनाको शव भेटियो आठ जनाको अवस्था अझै अज्ञात छ । सयौँ परिवार पूर्णरूपमा विस्थापित भए ।
रामारोशन तहसनहसपछि संघ तथा प्रदेशका मन्त्रीलगायत प्रदेशका जनप्रतिनिधिहरूको केन्द्र बन्यो रामारोशन गाउँपालिका । तर, अहिलेसम्म पीडित परिवारले सरकारबाट एक केजी चामलसमेत नपाएको गुनासो गर्दै आएका छन् । रामारोशन–१ का वेदराज खनालको कैलाश खोला किनारमा रहेको आधाभन्दा बढी खेत बगर बन्यो ।
परिवारको खाद्यान्नका लागि मुख्य स्रोत रहेको खेत नै बगर बनेपछि अहिले परिवार पाल्न नै खनाललाई निकै चुनौती छ । ‘दुःखमा हामीलाई कसैले सहयोग गरेनन्, अहिले भोट माग्न नेताहरू आएका छन्, उहाँले भन्नुभयो, ‘राहत नदिनेलाई भोट दिन्नौँ’ ।
तत्कालीन गृहमन्त्री, प्रदेशका मुख्यमन्त्री लगायतको टोली हेलिकप्टर नै लिएर बाढी प्रभावित क्षेत्रमा पुगेका थिए । रामारोशन-५ मा सबभन्दा बढी क्षति भएका पीडित र मृतकका परिवारहरूले केही राहत पाए पनि दर्जनौँ स्थानीयबासीले लगाएको धान बालीसहित खेतीयोग्य जमिन बगर बन्दा पनि कुनै राहत पाउन सकेका छैनन् ।
रामारोशन गाउँपालिकाले बाढीका कारण क्षति भएको क्षेत्रको तथ्यांकसमेत संकलन गरेको थियो । त्यो तथ्यांक संकलनमै सीमित भएको स्थानीयबासी सुरत विकको भनाइ छ । ‘केही नेताहरू आएर राहत दिन्छौँ भनी तथ्यांक संकलन गरे, तर राहत दिएनन् । अब कुन मुखले हामीसँग भोट माग्न आउलान् ? उहाँले प्रश्न गर्नुभयो ।’
रामारोशन गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउदले गत वर्षको बाढीका कारण विस्थापित भएका परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको बताउँदै घरबारविहीन भएका परिवारको घर निर्माणका लागि ५० परिवारका लागि चालु आर्थिक वर्षमा संघीय सरकारबाट पहिलो चरणमा ५० हजारका दरले रकम उपलब्ध गराएको जानकारी दिनुभयो ।
बाढीका कारण जयगड-माझे ठाना-रामारोशन सडक खण्डको खोला किनारको भागमा बाढीले क्षति पुर्याउँदा अहिले पनि यातायातको आवागमन सहज हुन सकेको छैन भने निर्माण कम्पनीले काम गर्न सक्ने वातावरणसमेत बनिसकेको छैन ।




















