काठमाडौं := नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइजी क्रिकेट लिग संरचनामा नेपाल टी-२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । क्यानले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल टी-२० आयोजना घोषणा गरेको हो ।
उक्त लिग आयोजना गर्नका लागि क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग रणनीतिक र कमर्सियल साझेदारीसमेत गरेको छ । सेभेन थ्री स्पोर्ट्ससँग क्यानले आठ वर्षका लागि ३३ करोडको सम्झौता गरेको छ । सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता १० वर्ष भए पनि विवादपछि दुई वर्ष घटाउँदै आठ वर्षमा झारिएको हो ।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार नेपाल प्रिमियर लिग अन्य कसैले दर्ता गराएको हुँदा नेपाल टी-२० को नामबाट आयोजना गर्न लागिएको हो । प्रतियोगिता सेप्टेम्बरमा गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । नेपाली घरेलु क्रिकेटको विकासका लागि लिग महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
कप्तान सन्दीप लामिछानेले सामाजिक सञ्जालमार्फत् लिगले युवा खेलाडीलाई सहयोग पुग्ने बताउनुभएको छ । ‘स्वागत छ, नेपाल टी-२० ले क्रिकेट खेल्न चाहने युवा खेलाडीहरूका लागि आमन्त्रण गर्नेछ । यसले क्रिकेट विकास, उत्कृष्ट प्रशिक्षक र स्टाफबाट सिकाउनेछ,’ सन्दीपले भन्नुभएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी-२० ले क्रिकेट विकाससँगै अन्तर्राष्ट्रिय प्रदर्शनमा सुधार आउने धारणा व्यक्त गर्नुभयो । उहाँले यसलाई क्यानको ड्रिम प्रोजेक्टका रूपमा अघि सार्दै यसको सफलतामा सबै लाग्नुपर्ने बताउनुभयो ।




















