फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुएल म्याक्रोन निर्वाचित।

पेरिस:= फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुएल म्याक्रोन निर्वाचित हुनुभएको छ । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोन पुनः निर्वाचित हुनुभएको हो । म्याक्रोनले ५८ दशमलव ५५ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने पेनले ४१ दशमलव ४५ प्रतिशत मत प्राप्त गर्नुभयो ।

च्याम्प डे मार्स पार्क बाहिरको विशाल स्क्रिनमा म्याक्रोनको विजयको खबर बाहिरिएपछि उहाँका समर्थकहरू जम्मा भएका थिए । समर्थकहरूले एकअर्कालाई अँगालो हालेर र म्याक्रोनको नाममा नारा लगाएर खुशी व्यक्त गरेका थिए । म्याक्रोन दुई दशकमा दोस्रो पटक चुनाव जित्ने पहिलो फ्रान्सेली राष्ट्रपति हुनुहुन्छ ।

तर, दोस्रो पटक यो पद सम्हाल्ने उहाँ देशको तेस्रो राष्ट्रपति हुनु हुनेछ । उहाँअघि फ्रान्सका दुई राष्ट्रपतिले मात्रै लगातार दोस्रो कार्यकाल जित्न सकेका थिए । म्याक्रोनले राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल जितिसकेपछि एफिल टावर मैदानमा समर्थकलाई सम्बोधन गर्नुभएको थियो । उहाँले आफ्ना समर्थकलाई धन्यवाद दिदै भन्नुभयो, ‘तपाईंहरू सबैले आगामी पाँच वर्षको लागि ममाथि विश्वास गर्नुभएको छ । मलाई थाहा छ, म तपाईहरूको ऋणी बनेको छु ।’

राष्ट्रपति माक्रोनले मतदानका बेला कतिपयले आफूलाई मतदान नगरेपनि आफू उनीहरूको समेत राष्ट्रपति भएको उल्लेख गर्नुभएको छ । इतिहास रचेपछि म्याक्रोनले आफ्नी पत्नी ब्रिजिट र छोराछोरीसँगै एफिल टावर नजिकै च्याम्प डे मार्समा सजाइएको मञ्चमा पुगेर राष्ट्रिय गान गाउनुभएको थियो।

चुनावको समयमा दक्षिणपन्थी उम्मेदवार पेनले ईयूविरोधी नीति सार्वजनिक गर्नुभएको थियो । म्याक्रोनको विजयको युरोपेली नेताहरूले स्वागत गरेका छन् । ‘हामीले फ्रान्स र युरोपलाई सँगसँगै अगाडि बढाउनेछौं’, युरोपेली आयोगका अध्यक्ष युर्सुला भोन डेर लियेनले भन्नुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले म्याक्रोनलाई बधाई दिनुभएको छ ।

फ्रान्सको राष्ट्रपति चुनावमा यो पल्ट ७२ प्रतिशत भोटरले मतदान गरेका थिए । यो सन् १९६९ पछि सबैभन्दा कम हो । यता, म्याक्रोन पुनः निर्वाचित भएपछि राजधानी पेरिसमा विरोध प्रदर्शन भएको छ । हजारौंको संख्यामा उपस्थित असन्तुष्ट समूहले गरेका प्रदर्शनहरू नियन्त्रण गर्न प्रहरीले बल प्रयोगसमेत गरेको छ । मध्य पेरिसमा प्रदर्शनकारीमाथि दंगा प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्याससमेत प्रहार गरेको जनाइएको छ ।

राष्ट्रपति म्याक्रोनको विजयले फ्रान्सलाई ठूलो राजनीतिक उथलपुथलबाट जोगाएको केहीको विश्लेषण छ । यद्यपि कतिपय भने पछिल्लो निर्वाचित परिणामबाट आक्रोशित बनेका छन् । राष्ट्रपति म्याक्रोनले सहज मतान्तरले जिते पनि दुवै उम्मेदवारप्रति मतदाताको तीव्र असन्तुष्टि थियो ।

दुवै उम्मेदवारप्रति असन्तुट जनाउँदै पहिलो चरणको मतदान र आइतबार दोस्रो चरणको निर्वाचन भइरहँदा विद्यार्थीहरूले पेरिसको सोर्बोन र अन्य विश्व विद्यालयबाहिर प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका थिए ।