काठमाडौं:= आइएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससिटी स्मार्ट क्युआरको चौथो दिन अर्थात् शनिबार अन्य दिनको तुलनामा भिड लागेको थियो । मेलाप्रति खासगरी युवा पुस्ताको आकर्षण देखिएको आयोजकले जनाएको छ ।
बुधबारदेखि सुरु भएको क्यान इन्फोटेकको २७औँ संस्करणमा शनिबार सार्वजनिक बिदासँगै मौसम पनि सफा रहेका कारण पनि अन्य दिनको तुलनामा सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा विद्यार्थीको भिड लागेको बताइएको छ ।
आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) का अध्यक्ष नवराज कुँवरका अनुसार यस वर्षको इन्फोटेक विगतभन्दा धेरै फरक रहेको छ । उद्देश्यअनुसार इन्फोटेकमा प्रदर्शनीकर्ताको सहभागिता र अवलोकनकर्ताको चाहनाअनुसारका प्रविधि राखिएका छन् ।
कोरोनाका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा मानिसहरू रहेको र आइसिटी एक्सेसेरिजभन्दा ब्रान्डिङ, फिन्टेक र स्टार्टअपमा अवलोकनकर्ताको भिड लागेको अध्यक्ष कुँवरको भनाइ छ ।
रोबोटिक, इमर्जिङ टेक्नोलोजी, वाइफाई तथा इन्टरनेटलगायत प्रोडक्टमा पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता छ भने सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुसन, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, सेक्युरेटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, एन्टिभाइरस र बैंकिङ सोलुसनसम्बन्धी सफ्टवयरलगायतका स्टलमा अवलोकनकर्ताको भिड लाग्ने गरेको आयोजकले जनाएको छ ।
प्रविधिको प्रयोगबाटै टिकट काटेर अवलोकनकर्तालाई इन्फोटेक अवलोकन गराउने योजनाअनुसार नै अवलोकनकर्ताले इन्फोटेक अवलोकन गरिरहेकोे इन्फोटेकका सह-संयोजक रञ्जितकुमार पोद्दारले बताउनुभयो । पोद्दारका अनुसार आइएमई-पेमार्फत् दैनिक हजारौँले टिकट खरिद गरेर इन्फोटेक अवलोकन गरेका छन्।
शनिबार इन्फोटेकमा गायक सुशान्त केसी, र्यापर गिरिस खतिवडा, गायक स्वप्न सुमन, पब्जी खेलाडी इन्दु मल्ललगायतले मेला अवलोकन गरेको बताइएको छ । शनिबार डिसहोमले नयाँ प्रोडक्ट ‘क्याम्पस वाइफाई’ सार्वजनिक गरेको थियो भने सोही दिन ‘ब्रान्डच्यालेन्ज’ प्रतियोगिता आयोजना गरिएको क्यान महासंघका महासचिव नारायण थापाले जानकारी दिनुभयो । मेला सोमबारसम्म जारी रहनेछ ।




















