नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विष्फोट हुँदा सयभन्दा बढी मानिसको मृत्यु।

अबुजा:= नाइजेरियाको एक तेल प्रशोधन केन्द्रमा विष्फोट हुँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । अफ्रिकी देश नाइजेरियाको एक तेल प्रशोधन केन्द्रमा विष्फोट हुँदा एक सयभन्दा बढीको मृत्यु र दर्जनौं घाइते भएका हुन् ।

नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको विष्फोटका कारण सो प्रशोधन केन्द्र ध्वस्त भएको छ । विष्फोटका कारण प्रशोधन केन्द्रको वरिपरिको गाउँमा समेत क्षति पुगेको बताइएको छ ।

‘पहिचान नखुल्ने गरी जलेका धेरै शवहरू भुइँमा छरपष्ट छन् । कोही मानिस रूखका हाँगामा झुण्डिएका देखिन्छन् । उनीहरू सुरक्षाका लागि दौडिने क्रममा विष्फोटमा परेका हुन सक्छन् ’, त्यहाँको युवा तथा वातावरणीय एड्भोकेसी सेन्टर (वाइइएसी) का कार्यकारी निर्देशक फाइनेफेस डुम्नानेले भन्नुभएको छ ।

अवैध प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति सञ्चालक र उनीहरूका संरक्षकहरू व्यवसायका लागि भेला भएका ठाउँमा विष्फोट भएको प्रहरीले जनाएको छ । यो तेल खानी नाइजेरियाका ठूला तेलखानीमध्ये एक रहेको जनाइएको छ ।

नाइजेरियामा बढ्दो बेरोजगारीका कारण निकै नै घातक मानिएको तेल प्रशोधन केन्द्रमा आफैं तेल उत्पादन गर्न जोखिम मोल्ने गरेका कारण वर्षेनी हुने विष्फोटमा ज्यान जाने गरेको छ।