काबुल:= अफगानिस्तानको कुन्दुज शहरमा एक मस्जिदमा विष्फोट हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । विष्फोटमा परी अन्य धेरै मानिस घाइते भएको तालिवान अधिकारीहरूले बताएका छन् । विष्फोट हुँदा मस्जिदमा सुफी धर्मावलम्बी भेला भएका थिए । विष्फोट कसले गराएको भन्ने खुलेको छैन । तर, यसमा इस्लामिक स्टेट भनिने चरमपन्थी संगठनको हात हुनसक्ने अनुमान गरिएको छ ।
गत वर्ष अगष्ट महिनामा तालिवानले सत्ता कब्जा गरेयता आतंककारी संगठन इस्लामिक स्टेटले यस्ता आक्रमणको जिम्मा लिँदै आएको छ । आक्रमणमा प्रयोग भएको विष्फोटक पदार्थ र यसको उद्देश्यबारे अनुसन्धान भइरहेको कुन्दुज प्रहरीले जनाएको छ । पछिल्ला केही दिनहरूयता अफगानिस्तका विभिन्न स्थानमा बम आक्रमण हुँदै आएको छ ।
कुन्दुजमा गराइएको पछिल्लो आक्रमणलाई गत वर्ष अगष्ट महिनामा तालिबानले सत्ता कब्जा गरेयता गराइएका घातक आक्रमणको रुसमा लिइएको छ । समाचार अनुसार राजधानी काबुलमा पनि विष्फोट भएको छ । यो पछिल्लो विष्फोट एक दिनअघि कुन्दुज र मजार-ए-शरीफ शहरहरूमा पनि विष्फोट भएको बेला भएको हो ।
मजार–ए–शरिफ शहरमा रहेको शिया मस्जिदमा विष्फोट भएको थियो । बिहीबार भएका यी दुवै विस्फोटमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो । इस्लामिक स्टेटले यी विष्फोटको जिम्मेवारी लिएको थियो ।




















