पारा पदक विजेता खेलाडी सम्मानित।

काठमाडौं:= काजोल म्युजिक प्रालिले बहराइनमा भएको चौथो युथ एसियन पारा गेम्सका पदक विजेता तेक्वान्दो खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । बहराइनको मानामा मंसिर १६ देखि २० गतेसम्म भएको गेम्समा पलेशा गोवद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत तथा विशाल गर्बुजाले कास्य जित्नुभएको छ ।

सोही अवसरमा टोलीका प्रशिक्षक अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई पनि नगदसहित सम्मान गरिएको थियो । चारैजनालाई प्रशंसा पत्रसहित जनही पाँच हजार नगद प्रदान गरियो । विशाल भने कार्यक्रममा उपस्थित हुनुभएन ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, काजोल म्युजिक प्रालिकी प्रोप्राइटर एवं राखेप बोर्ड सदस्य नन्दा बस्याल र राखेप बोर्ड सदस्य एकेन्द्र कुँवरले राष्ट्रिय लोकनृत्य महोत्सव तथा सम्मान कार्यक्रममा उहाँहरूलाई सम्मान गर्नुभयो ।