काठमाडौं:= मेलम्चीको पानी आज (आइतबार)देखि काठमाडौं उपत्यकाबासीको घरघरमा आइपुग्ने भएको छ । आइतबार बिहानसम्म महाँकालचौरमा पानी आइपुग्ने र दिउँसोबाट पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपाली लिमिटेडले जनाएको छ ।
गत वर्षको अनुभवका आधारमा पानी वितरण गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि अधिकांश स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी भएकाले पनि पुरानो पाइपबाटै वितरण गर्न लागिएको हो ।
गत सोमबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका घरघरका धारामा आउने भएकाले वितरणको तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको थियो ।
मन्त्री चौधरीले मेलम्चीको पानी समानुपातिक ढंगले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्न पाइपलाइनको परीक्षण र चुहावट नियन्त्रणका लागि विशेष पहल गर्नु केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशनसमेत दिनुभएको थियो ।
मेलम्ची खोलाबाट १७ करोड लिटर पानी ल्याउने भए पनि अहिले तत्काल थोरैबाट सुरु गरिने तयारी छ । गत वर्ष पनि सुरुमा थोरै परिमाणबाट पानी वितरण थालिएको थियो। गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा गएको पहिरोसँगै आएको बाढीका कारण आयोजना क्षतिग्रस्त बनेको थियो ।
गत माघ १४ गतेदेखि आयोजना सफाइ तथा मर्मतको काम सुरु भएको थियो । खानेपानी मन्त्री चौधरीले मुहानबाट गत चैत २९ गते पानी पुनः पथान्तरण गर्नुभएको थियो । वितरण पाइपको ४१० किमी नयाँ र ६०० किमी पाइप पुरानोबाट नै पानी वितरण हुनेछ ।
नयाँ पाइपबाट वितरण हुने क्षेत्रमा नक्साल, कमलपोखरी, दरबारमार्ग, नयाँ सडक, डिल्लीबजार, गौशाला, अनामनगर, तिलगंगा, चक्रपथ, बबरमहल, कोटेश्वर, नरेफाँटलगायत स्थान छन् । असारयता यी ठाउँमा ट्यांकरको पानी र बागमतीको पानीले पाइप परीक्षण गरिएको थियो ।
मुहानबाट २६० लिटर प्रतिसेकेण्डका दरले सुरुङमा हालिएको पानी गत सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको थियो । सुरुङ पूरा भरिन दुई दिन लागेको थियो । भरिएपछि प्रशोधन केन्द्रमा ल्याई प्रशोधन गरी मेलम्चीको पानी आजदेखि वितरण गर्ने तयारी गरिएको हो ।
यसअघि काठमाडौं आइपुगेको पानी गएको वर्ष असार १ गतेको बाढीका कारण मुहान क्षेत्रका संरचना भत्किएपछि अवरुद्ध भएको थियो । मेलम्ची आयोजनाले अहिले अस्थायी रूपमा पानी ल्याउन लागेको हो । वर्षा लागेसँगै फेरि पानी बन्द गरिने बताइएको छ ।
वर्षा कम भएपछि फेरि पानी ल्याउने तयारी गरिएको जनाइएको छ । मेलम्चीको पानी काठमाडौंबासीको घर–घरमा पु¥याउनका लागि तीन कार्यालयको फरक–फरक भूमिका रहेको छ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकस्थित आयोजनास्थलमा सुरुङ, हेडवर्कलगायत संरचना निर्माण गरेको थियो ।
समितिले नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो। निर्देशनालयले सुन्दरीजलको प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घर–घरसम्म पु¥याउन आवश्यक संरचना निर्माण गरिसकेको छ । ७७ किमी लम्बाइको बल्लब डिस्ट्रिब्युसन सिष्टममार्फत पानी १० ठाउँका ट्यांकीमा पुग्छ । ती ट्यांकीमार्फत नै पानी घर–घरमा पुग्ने गरी संरचना निर्माण गरिएको छ । वितरण पाइपमार्फत उपभोक्ताका घरमा पानी जानेछ ।




















