इण्डियन आइडल विजेता पवनदीप राजन काठमाडौंमा।

काठमाडौं := इण्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाडौं आइपुग्नुभएको छ । उहाँ शनिबार साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं अवतरण गर्नुभएको हो ।

पवनदीप लर्ड अफ ड्रिंक्स (एलओडी) मा हुने आफ्नो विशेष सांगीतिक कार्यक्रमका लागि आउनुभएको हो । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पवनदीपले नेपालमा गीत गाउन आउन पाउँदा खुशी लागेको बताउनुभयो । साथै कार्यक्रमका लागि उत्साहित रहेको जानकारी दिनुभयो ।

३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य (हृयापी) ले पवनदीपको सांगीतिक प्रस्तुति हेर्न उल्लेख्य संगीत पारखीहरूले टिकट लिएको जानकारी गराउनुभयो । रोटरी क्लब अफ पाटन वेष्टले आयोजना गरेको र ३६५ इभेन्टस् एण्ड मिडियाले व्यवस्थापन गरेको पवनदीप राजनको सांस्कृतिक कार्यक्रममा दुई थरिका टिकट राखिएको छ ।

आयोजकका अनुसार २५ सय र तीन हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ । टिकट विभिन्न माध्यमबाट उपलब्ध हुने समेत जानकारी आयोजकले दिएका छन् । अनलाइन टिकटका लागि भुक्तानी प्रदायक आइ एमई पे वालेटमार्फत अग्रिम टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

पवनदीप राजन इण्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुनुहुन्छ । कोरोना कारणले स्थगित पवनदीपको सांगीतिक कार्यक्रम यसपटक भने भव्य रूपमा सफल हुने विश्वास गरिएको छ ।