रुस-युक्रेन युद्ध: मारिपोलमा पूरै कब्जा गरेको रूसको दाबी।

मस्को:= युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोल पूरै कब्जा गरेको रूसले दाबी गरेको छ । रूसको सरकारी मिडियाले युक्रेनको मारिपोल अहिले मस्कोको सेनाको कब्जामा रहेको दाबी गरेको हो । यसैबीच राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई मारिपोलको अजोवस्तलमा बम नखसाल्न पनि आदेश दिएको बताइएको छ ।

पुटिनले आफूलेमात्र सुरक्षित रूपमा स्टिल प्लान्ट बन्द गर्न चाहेको बताउनुभएको छ । उहाँले सेनालाई यस औद्योगिक क्षेत्रमा एउटा झिँगा पनि प्रवेश गर्न नपाओस् भनी छेकबार गर्न लगाउनुभएको छ ।

रूसी सेनाका अनुसार यो स्टिल प्लान्टबाहेक अहिले पूरै मारिपोल शहर आफ्नो नियन्त्रणमा रहेको छ । यो स्टिल प्लान्ट त्यो ठाउँ हो–जहाँ युक्रेनी लडाकुहरू छन् र एक हजार युक्रेनी नागरिकहरू पनि यहाँ कठिन परिस्थितिमा बसिरहेका छन् ।

पुटिनले रक्षामन्त्री सर्गेई शोइगुसँगको कुराकानीमा यस्तो आदेश दिनुभएको हो । पुटिनले मारिपोलमा अपरेसनको सफलताको लागि रक्षामन्त्रीलाई बधाईसमेत दिनुभएको छ । रक्षामन्त्री शोइगुले पुटिनलाई उहाँले यो प्लान्टबाहेक सम्पूर्ण मारिपोल अहिले रूसको नियन्त्रणमा रहेको बताउनुभएको छ ।

‘युक्रेनी सेनाले नियन्त्रण कायम गर्न संघर्ष गरिरहेको मारिओपोलबाट विस्थापितहरू बोकेका चारवटा बस शहर छोडेका छन्’, युक्रेन सरकारले बिहीबार भनेको छ । चारवटा खाली बसहरू मानवीय करिडोरमार्फत शहर छोड्न सफल भएको युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

मरिउपोलबाट मध्यपूर्वलगायतका देशमा फलाम, स्टिल, कोइला र मकै निर्यात हुने गर्छ । सन् २०१४ मा रूसले क्राइमियालाई आफ्नो भूभागमा गाभेसँगै यो क्षेत्र रूसी फौज र दोनेत्सक र लुहान्स्क क्षेत्रका रूस समर्थित पृथकतावादी लडाकुको दबाबमा रहँदै आएको छ ।

रूसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेको डेढ महिना नाघिसकेको छ । यो अवधिमा अपेक्षित सफलता हासिल गर्न नसकेको रूसले पुनः युक्रेनमाथिको आक्रमणलाई तीव्रता दिएको छ । फेब्रुवरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रूसविरुद्ध कैयौं प्रतिबन्ध लगाएका छन् ।

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मा आबद्ध हुने युक्रेनको तयारीपछि रूसले आक्रमण थालेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार युद्धका कारण हालसम्म करिब ५० लाखभन्दा बढी युक्रेनीले देश छाडिसकेका छन् ।

यसैबीच रूसले अन्तर्महादेशीय क्षेप्यास्त्र सरमत–२ को सफल परीक्षण बुधबार गरेको छ । यो क्षेप्यास्त्र ध्वनिको भन्दा २० गुणा तीव्र गतिमा उड्छ र यसको दायरा १८ हजार किलोमिटर छ । यसलाई बीचैमा रोक्न अर्थात् इन्टरसेप्ट गर्न सकिँदैन ।

यस क्षेप्यास्त्रले अनेकौं वारहेड फ्याँक्छ र ती प्रत्येक वारहेडले गाइडेड क्रुज क्षेप्यास्त्रको जस्तो व्यहोरा देखाउँछन् । हाइपरसोनिक गतिमा ग्लाइड गर्ने हुनाले यस क्षेप्यास्त्रलाई अमेरिकाका अत्याधुनिक क्षेप्यास्त्र प्रतिरोधी प्रणालीहरूले रोक्न सक्दैनन् ।

ती प्रतिरोधी प्रणालीले परम्परागत ब्यालिस्टिक आर्कका ट्राजेक्टोरीलाई मात्र रोक्न सक्ने हुन् । ‘यो क्षेप्यास्त्रमा विभिन्न भाग छन् जसमा १० देखि १५ वटा वारहेडहरू रहन्छन् । ती प्रत्येकको क्षमता ७५० किलोटनसम्मको छ ।

तिनीहरू हाइपरसोनिक गतिमा लक्ष्यतर्फ बढ्छन् र तिनको हर्कतलाई अमेरिकाको क्षेप्यास्त्र प्रतिरोधी प्रणालीले रोक्न सक्दैन’, रूसका सैन्य विश्लेषक अलेक्सी लियोनकोभले भन्नुभयो । रूसका राष्ट्रपति पुटिनले यसलाई संसारकै सबभन्दा खतरनाक हतियार भन्नुभएको छ ।