यही वैशाख १ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ले पहिलो सातामै ४ करोड रुपैयाँमाथिको आम्दानी गरेको छ । प्रदर्शनको तीन दिनमा २ करोड ४३ लाख कमाएको झरना थापा निर्देशित यो चलचित्रले एक हप्तामा ४ करोड १ लाख ग्रस कलेक्सन गरेको छ ।
बिहीबार निर्माण टिमले एक पोष्टरमार्फत् चलचित्रको एकहप्ते कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो । बिहीबारबाट फिल्म दोस्रो हप्तामा प्रवेश गरेको छ । यो चलचित्रले बक्सअफिसमा साउथ चलचित्र ‘केजिएफ २’सँग भिडन्त गरेको थियो ।
लभस्टोरी जनरामा बनेको यस चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राईलगायतको अभिनय छ ।
मित्र डि.गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको व्याकग्राउण्ड स्कोर र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको कथा झरना थापा र स्वं.छेतन गुरुङले मिलेर लेख्नुभएको हो ।
‘ए मेरो हजुर ४’को आम्दानीलाई ‘केजिएफ २’ले असर भने गरेको छ । साउथको ठूलो चलचित्र ‘केजिएफ २’कै कारण नेपाली चलचित्रलाई मल्टिप्लेक्समा उच्च शो दिइएन । त्यसैले पनि चलचित्रले अझै बढी आम्दानी गर्न सकेन ।



















