फ्रेन्च लिग वान फुटबल: एन्जर्सलाई ३-० ले पराजित गर्दै पेरिस सेन्ट जर्मन (पिएसजी) विजयी।

पेरिस:= फ्रेन्च लिग वानमा एन्जर्सलाई ३-० ले पराजित गर्दै पेरिस सेन्ट जर्मन (पिएसजी) ले आफ्नो उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीको सहज जितमा केलियन एमबाप्पे, सर्जियो रामोस र मार्किन्हसले एक÷एक गोल गर्नुभयो।

बुधबार राती भएको खेलको २८औँ मिनेटमा केलियन एमबाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले पिएसजीको अग्रता दोब्बर पार्नुभयो । यस्तै ७७औँ मिनेटमा डि मारियाकै पासमा कप्तान मार्किन्हसले गोल गर्दै पिएसजीको सहज जित पक्का गर्नुभयो।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३३ खेलबाट ७७ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई १५ अंकले पछि पारेको छ । दोस्रो स्थानमा रहेको मार्सेको ६२ अंक छ । पराजित एन्जर्स ३४ अंक जोडेर १४औँ स्थानमा रहेको छ।

यता सिरी ‘ए’ प्रतिद्वन्द्वी फियोरेन्टिनामाथि सेमिफाइनलको दोस्रो लिगमा २-० को जित निकाल्दै युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । समग्रमा ३-० को जित निकाल्दै युभेन्ट्सले फाइनलमा इन्टर मिलानसँगको भेट पक्का गरेको हो।

पहिलो लिगमा युभेन्ट्सले १-० को जित निकालेको थियो । बुधबार राती घरेलु मैदान एलिएन्ज एरिना टुरिनमा भएको खेलमा युभेन्ट्सको जितमा फेडरिको बर्नरडेस्ची र डानिलोले गोल गर्नुभएको थियो ।

अब युभेन्ट्सले उपाधिका लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टर मिलानले शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । फाइनल ११ मेमा रोममा हुनेछ।