कोलम्बो:= श्रीलंकाको मध्यभागमा पर्ने रामबुक्कानामा बुधबार कर्फ्यू लगाइएको छ । सरकारविरोधी आन्दोलनका क्रममा मंगलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कर्फ्यू लगाइएको हो ।
आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्तिसुरक्षा कायम गर्न भन्दै कर्फ्यु लागाउनुपरेको जनाएको छ । घटनाका बारेमा निष्पक्ष छानविन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गरिने सरकारी अधिकारीले प्रतिबद्धता जनाएका छन्।
आर्थिक संकटका कारण मुलुकमा अभाव र मूल्यवृद्धि भएकाले त्यसलाई न्यूनीकरण गर्न माग गर्दै आमनागरिकले आन्दोलन गर्दै आएका छन् । आन्दोलनकारीले समस्या समाधानका लागि राष्ट्रपति गोटावाय राजापाक्षले पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।
मुलुकमा आर्थिक संकट उत्पन्न हुनु, महँगी बढ्नु र वस्तु तथा सेवाहरूको अभाव हुनुमा राष्ट्रपति नै दोषी रहेको उनीहरूको दाबी छ । आर्थिक अभावका कारण कतिपय अत्यवश्यक सेवा तथा वस्तु अभाव हुन थालेको स्थानीय बासिन्दाले बताएका छन्।
सरकारी अधिकारीले नै कतिपय औषधि, अत्यावश्यक अन्य विभिन्न सामानको अभाव भएको जनाएका छन् छ भने दैनिक लामो समय विद्युत् कटौती भएको छ । आर्थिक संकटका कारण आन्दोलन सुरु भएपछि राजनीतिक संकट उत्पन्न भएको छ । राजधानी कोलम्बोदेखि ९५ किलोमिटर टाढा पर्ने रामबुक्कानामा भएको आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीको झडपका क्रममा २९ जना घाइते भएका छन् ।
चरम आर्थिक संकटमा फसेको श्रीलंकामा औषधि र अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव चुलिएको छ । तत्काल अन्तर्राष्ट्रिय सहयोग नहुने हो भने भयंकर स्वास्थ्य संकट आउने चेतावनी दिइएको छ ।
अहिले नै दुखाई कम गर्ने औषधि, बेहोस बनाउने औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव भइसकेको बताइएको छ । अर्को दुई साताभित्र मेडिकल सामग्री र औषधि सहयोग नआउने हो भने बिरामीलाई अलपत्र छाड्नुको विकल्प नहुने चिकित्सकले जनाएका छन् ।
श्रीलंकाका अस्पतालले नियमित अपरेशनका काम रोकेको धेरै दिन भइसकेको छ भने दुर्गम क्षेत्रमा प्यारासिटामोलसमेत उपलब्ध नभएको बताइएको छ । श्रीलंकाले औषधि र स्वास्थ्य सामग्रीको ८५ प्रतिशत विदेशबाट आयात गर्ने गर्दछ ।
दुई करोड २० लाख जनसंख्या भएको श्रीलंकाले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ । मूल्यवृद्धि आकाशिएको छ भने आधा दिनभन्दा बढी लोडसेडिङ भएको छ । गत महिना कागजको अभावमा परीक्षा नै स्थगित गरिएका थिए ।
यसैबीच श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफसँग सहयोगका लागि आग्रह गरेको छ । आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाली सरकारका वित्तमन्त्रीको टोली अमेरिका पुगेको छ । आइएमएफसँग आर्थिक सहयोगका विषयमा छलफल गर्न वित्तमन्त्री अली सावरी वासिंगटन पुग्नु भएको हो।
देशको आर्थिक संकट कम गर्न आफूहरूले उठाएको कदमको आइएमएफले प्रशंसा गरेको मन्त्री साबरीले जिकिर गर्नुभएको छ । पछिल्लो समय श्रीलंकाले विदेशी ऋण तिर्न सकेको छैन । यद्यपि गत मंगलबार श्रीलंकाली सरकारले ५१ अर्ब डलर विदेशी ऋण तिर्ने घोषणा गरेको थियो । श्रीलंकाको विदेशी ऋणको ३६ प्रतिशत हिस्सा चीनको रहेको छ ।




















