काठमाडौं := विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज (बिहीबार) नेपाल आउँदै हुनुहुन्छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उहाँ आज अपरान्ह नेपाल आउन लाग्नुभएको हो । उहाँको साथमा विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह र अन्य अधिकारीहरू पनि आउन लाग्नुभएको छ ।
तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।त्यसैगरी, उहाँले स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुहुने छ । यस्तै, नेपालमा रहँदा उहाँले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्नुहुने बताइएको छ ।
महानिर्देशक तीनदिने सद्भाव भ्रमणमा नेपाल आउन लाग्नुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो । भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारी रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ वैशाख १० गते नेपालबाट फर्कनुहुने कार्यक्रम रहेको छ ।




















