काठमाडौं:= नेपाली कांग्रेसका पूर्व उप-सभापति विमलेन्द्र निधिले सत्ता गठबन्धनले बुधवार गरेको तालमेलको निर्णयलाई लिएर विरोध जनाउनुभएको छ । निधिले तालमेलको निर्णय कार्यकर्ताको भावना विपरित भएको र मधेश प्रदेश जनता समाजवादी पार्टीलाई जिम्मा लगाउने काम कांग्रेस केन्द्रले गरेको आरोप लगाउनुभएको छ ।
‘सत्ता गठबन्धनको बैठकमा कांग्रेसले जुन किसिमको तालमेलको निर्णय गरेको छ । यो सरासर कांग्रेस केन्द्रीय समितिको निर्णयविरुद्ध छ,’ निधिले भन्नुभयो, ‘यो देशभरीका आम कार्यकर्ताको भावनाविपरित छ ।’
बुधवार सत्ता गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएसँगै निधिले यसको विरोध गर्नुभएको हो । सत्ता गठबन्धनले मधेश प्रदेशको वीरगंज र जनकपुरको प्रमुख जनता समाजवादी पार्टीले पाउने सहमति गरेका छन् । यसअघि कांग्रेसले जनकपुरको मेयरमा दाबी गर्दै आएको थियो । यद्यपि जनकपुरमा जसपाले दावी नछाडेपछि कांग्रेसले उपमेयरमा चित्त बुझाउँदै सहमति गरेको हो ।
यो पुरै मधेश प्रदेश जसपालाई जिम्मा लगाउने काम भएको निधिको ठहर छ । ‘मधेश प्रदेश पुरै जसपालाई जिम्मा लगाउने काम भयो । यसले कांग्रेसलाई थप कमजोर बनाउँछ,’ उहाँले भन्नुभयो, ‘यो आत्मघाती तालमेल हो ।’ निधिले यस विषयमा मधेश र देशभरका कांग्रेस नेताहरूसँग छलफल गरी आफ्नो पक्षबाट थप निर्णय लिनेसमेत बताउनुभयो ।




















