काठमाडौं := नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ । सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको छ ।
सो अवसरमा सिएनआईमा आबद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारेमा विदेशी मुद्रा सञ्चितीमा परेको चाप कम गर्ने र तरलता संकटलाई माथि उठाउने दुई मुख्य विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको जिकिर गर्नुभयो । नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ३३.६५ बिलियन डलर र श्रीलंकाको जिडिपी ८०.७ बिलियन डलर रहेको पनि उहाँले तथ्यांक प्रस्तुत गर्नुभयो ।
त्यस्तै, नेपालको वास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलंकाको ८९.५ बिलियन डलर रहेको, जिडिपीमा वास्तविक ऋण हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११.४२ प्रतिशत रहेको, कुल वैदेशिक मुद्रा सञ्चितीतर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ बिलियन डलरमात्रै रहेको कार्यपत्रमा उल्लेख गरिएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय मूल्य शृंखलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत पुगेको बताइएको छ ।
अर्थतन्त्रको परिदृश्य देखाउने मुख्य-मख्य सूचकांकमा नेपालको अर्थतन्त्र श्रीलंकाभन्दा धेरै मजबुत रहेको अग्रवालको दाबी छ । सो अवसरमा सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्राको सञ्चितीमा परेको चापबाट माथि उठ्न आयातमा प्रतिबन्धको सट्टा करका दर बढाउने तथा आयातका लागि लिइने ऋणको व्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले उत्पादन र आयातमा जाने कर्जाको व्याजदर फरक–फरक बनाउन पनि सुझाव दिनुभएको छ ।
आन्तरिक तथा बाहृय पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको भन्दै उहाँले पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेज धमाधम घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्स निक्षेपमा अतिरिक्त दुई प्रतिशत व्याजदर दिन, गैरआवासीय नेपाालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्नेलगायत सुझाव दिनुभएको छ ।
अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलना नै नहुने कुरा आफूले पनि बारम्बार भन्दै आएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतीकरण गर्न खोजिरहेका छन्, चुनावी मुद्दा पनि बनाएका छन्, यथार्थमा नेपालको अर्थव्यवस्था श्रीलंकाजस्तो होइन र हामी श्रीलंकाजस्तो हुन पनि नदिने गरी अर्थव्यवस्था सुधारको काम गरिरहेका छौँ ।’
उहाँले आगामी आव २०७९÷०८० को बजेटमार्फत् अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने गरी सुधार गर्ने दाबीसमेत गर्नुभएको सिएनआईले जनाएको छ ।




















