पुजा र आकाशको अभिनय रहेको चलचित्र ‘सम्झना–बिर्सना’को ट्रेलर सार्वजनिक।

काठमाडौं:= चलचित्र ‘सम्झना–बिर्सना’को ट्रेलर सार्वजनिक गरिएको छ । नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मुख्य अभिनय रहेको यो चलचित्रको सोमबार सार्वजनिक ट्रेलर बुढासुब्बा डिजिटलको युट्युबमा अपलोड गरिएको छ ।

तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । निमेष प्रधान निर्देशित चलचित्रलाई अद्वीतीय प्रधान र रेविका प्रधानले निर्माण गर्नुभएको हो ।

जेठ ६ गते प्रदर्शन हुने चलचित्रमा पूजा र आकाशका साथमा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायत कलाकारले अभिनय गर्नुभएको छ । दार्जिलिङ, सिल्गुडी तथा सिक्किमका विभिन्न रमणीयस्थानमा खिचिएको चलचित्रको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उहाँलाई शिशिर राणाले सघाउनु भएको छ ।

केही दिनअघि सार्वजनिक यो चलचित्रको ‘परेलीमा’ बोलको गीतमा आएको प्रतिक्रिया हेर्ने हो भने दर्शक तथा श्रोताको मन जितेको बुझ्न सकिन्छ । ट्रेलरमा पूजा र आकाशबीचको सम्बन्धमा असमझदारी भएको झलक देखाइएको छ ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिव ढकालले खिच्नुभएको हो भने सम्पादन तारा थापा ‘किम्भे’को छ । चलचित्रका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।