नेपाल बारको चुनावमा सत्ता गठबन्धनको प्यानल नै निर्वाचित,अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे।

काठमाडौं:= नेपाल बार एसोसिएसनको चुनावमा सत्ता गठबन्धननिकट प्यानल नै विजयी भएको छ । अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएका घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा निर्वाचित हुनुभएको हो।

घिमिरे नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व–अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको १४औँ महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका संयोजक हुनुहुन्थ्यो।

घिमिरेले ४ हजार ४७४ मत पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २ हजार ४८२ मत प्राप्त गर्नुभयो । त्यस्तै, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठले १२३, अधिवक्ता पृथ्वीनाथ राईले १४२, अधिवक्ता अनिता जधारीले ७३, अधिवक्ता उत्तमबहादुर श्रेष्ठले ३७, अधिवक्ता कमलप्रसाद मलेगोले २८ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले ४५ मत प्राप्त गर्नुभयो ।

बारको चैत १९ गते काठमाडौंसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता थिए । त्यसमध्ये सात हजार ४२९ मत खसेको थियो ।

विसंगतिहीन र भ्रष्टाचारमुक्त न्यायपालिका हाम्रो प्रमुख उद्देश्य : घिमिरे

नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले अबको बारको नेतृत्वले विकृति, विसंगतिविरुद्ध लड्ने र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने बताउनुभएको छ । जितसँगै नेपाल बार परिसरमा विजयी टोलीलाई खादा, फूलमाला र अवीरले स्वागत गरिएको थियो । स्वागत समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष घिमिरेले कानुन व्यवसायलाई मर्यादित र व्यवस्थित पेसा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष घिमिरेले भन्नुभयो, ‘हामीले आफ्नो घोषणापत्रमार्फत जुन प्रतिबद्धता व्यक्त गरेका छौँ, विकृति, विसंगतिविहीन, भ्रष्टाचारमुक्त न्यायपालिका हाम्रो प्रमुख उद्देश्य हो । साथै एउटा मर्यादित पेसा, व्यवस्थित पेसा बनाउने पनि हाम्रो अर्को प्रमुख उद्देश्य हो । साथै कानुन व्यवसायीहरूलाई कानुन व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले आशा देखाउने हाम्रो अर्को उद्देश्य छ ।

त्यसैले हामी यसमा लागि पर्नेछौँ । तीन वर्षको पूरा कार्यकाल हामी एउटा सक्षम न्यायालय र एउटा सक्षम कानुनकर्मीको उत्पादनका लागि लागिपर्ने छौँ ।’ नवनिर्वाचित अध्यक्ष घिमिरेले कानुन व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले भरोसा दिलाउने बताउनुभयो । उहाँले तीन वर्षे कार्यकालमा सक्षम न्यायालय र सक्षम कानुनकर्मीको उत्पादनमा जोड दिने बताउनुभयो ।