फिफा विश्वकप २०२६ लक्षित अवैध सट्टेबाजीविरुद्ध मलेसियाभर व्यापक कारबाही, ३३१ जना पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा जारी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै सञ्चालन भइरहेको अवैध खेल सट्टेबाजी तथा अनलाइन जुवाविरुद्धको विशेष अभियान ‘अप्स सोगा XI (Ops Soga XI)’ अन्तर्गत प्रहरीले हालसम्म ३३१ जनालाई पक्राउ गरेको छ।

मलेसियाको बुकित अमान आपराधिक अनुसन्धान विभाग (CID) का निर्देशक दातुक एम. कुमारका अनुसार जुन ११ देखि सुरु भएको यो अभियान जुलाई १९ सम्म जारी रहनेछ। यस अवधिमा देशभर २९३ वटा छापा मारिएको छ।

पक्राउ परेकामध्ये ३१२ पुरुष र १९ महिला रहेका छन्। त्यस्तै २३४ जना मलेसियाली नागरिक तथा ९७ जना विदेशी नागरिक रहेका छन्।

प्रहरीले कारबाहीका क्रममा RM145,005.09 (करिब १ लाख ४५ हजार रिङ्गिट) नगद बरामद गरेको छ। साथै, अनुसन्धानका क्रममा RM2,625,529.46 (करिब २६ लाख २५ हजार रिङ्गिट) बराबरको अवैध सट्टेबाजी कारोबार भएको खुलासा भएको छ।

दातुक कुमारका अनुसार यो अभियान मलेसियन कम्युनिकेसन्स एन्ड मल्टिमिडिया कमिसन (MCMC) सँगको सहकार्यमा सञ्चालन भइरहेको छ। विशेषगरी वेबसाइट, मोबाइल एप तथा सामाजिक सञ्जालमार्फत गरिने जुवा तथा सट्टेबाजीसम्बन्धी विज्ञापन र प्रचारप्रसारमाथि कडा निगरानी राखिएको छ।

हालसम्म प्रहरीले १८५ वटा वेबसाइट, अनलाइन प्लेटफर्म, मोबाइल एप तथा सामाजिक सञ्जाल खाता पहिचान गरेको छ, जहाँ फुटबल सट्टेबाजी तथा अनलाइन जुवाको प्रचार भइरहेको थियो। यी सबै वेबसाइट तथा सामग्री बन्द वा हटाउन MCMC सँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा लगेर Betting Act 1953, Immigration Act 1959/63 तथा आवश्यक परे Anti-Money Laundering, Anti-Terrorism Financing and Proceeds of Unlawful Activities Act 2001 अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले अवैध जुवा नियन्त्रणका लागि आगामी दिनमा पनि यस्ता विशेष अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै, अवैध सट्टेबाजी वा जुवासम्बन्धी कुनै पनि सूचना भए प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। समाचार स्रोत : द-स्टार अनलाइन पत्रीका