क्वालालम्पुर (मलेसिया):= मलेसियाको सेलाङ्गोरमा तीन वर्षदेखि नक्कली अध्यागमन कागजात र अध्यागमन विभागका छाप (इमिग्रेसन स्टाम्प) तयार गरी अवैध कारोबार गर्दै आएको एक विदेशी महिलाको गिरोहलाई अध्यागमन विभागले पक्राउ गरेको छ।
सेलाङ्गोर अध्यागमन विभागका उपनिर्देशक (नियन्त्रण) मोहम्मद खुसाइरी कमारुदिनका अनुसार पक्राउ परेकी महिला उक्त गिरोहकी मुख्य सञ्चालक हुन्। उनी स्थानीय नागरिकसँग विवाह गरेका विदेशी नागरिकका रूपमा दीर्घकालीन सामाजिक भ्रमण पास (Long-Term Social Visit Pass) मा मलेसियामा बस्दै आएकी थिइन्।
प्रहरीका अनुसार गिरोहले विदेशमा रहेका विदेशी नागरिकलाई आफ्नो ग्राहक बनाउने गरेको थियो। उनीहरूलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) हुँदै मलेसिया ल्याइन्थ्यो र क्लाङ क्षेत्रमा रहेको ट्रान्जिट घरमा एकदेखि दुई सातासम्म राखिन्थ्यो।
त्यस अवधिमा गिरोहले ग्राहकका लागि नक्कली यात्रा विवरण (Travel Record), नक्कली रोजगारी अभिलेख, तथा नक्कली अस्थायी रोजगारी पास (PLKS) लगायत विभिन्न अध्यागमन सम्बन्धी कागजात तयार पार्ने गरेको अनुसन्धानबाट खुलेको छ।
‘अप्स सेरकाप’ (Ops Serkap) नामक विशेष अभियानअन्तर्गत गरिएको छापामार कारबाहीमा भारत, बंगलादेश र श्रीलंकाका ११ जना विदेशीसहित कुल १२ जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ परेकाहरूको उमेर २५ देखि ४० वर्षबीच रहेको जनाइएको छ।
मुख्य महिला सञ्चालकमाथि अध्यागमन ऐन १९५९/६३ को दफा ५६(१)(i) अन्तर्गत अनुसन्धान भइरहेको छ भने अन्य पक्राउ परेकामाथि दफा ६(१)(c) र दफा १५(१)(c) अनुसार अनुसन्धान भइरहेको छ।
अध्यागमन विभागले यस गिरोहको सम्पूर्ण सञ्जाल तथा स्वदेश र विदेशमा रहेका सम्भावित सहयोगीहरूको पहिचान गर्न विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
सेलाङ्गोर अध्यागमन विभागले नक्कली कागजात तयार गर्ने, अध्यागमन सुविधाको दुरुपयोग गर्ने वा नक्कली कागजात प्रयोग गरी भिसा प्राप्त गर्ने कार्य मलेसियाको कानुनअनुसार गम्भीर अपराध भएको चेतावनी दिएको छ। यस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न आगामी दिनमा पनि कडा अनुगमन र कारबाहीलाई निरन्तरता दिइने विभागले जनाएको छ।




















