मलेसियाको काजाङमा सुटकेसभित्र महिलाको शव फेला, नेपाली नागरिक भएको आशंका।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको सेलाङ्गोर राज्यस्थित काजाङको तामान इम्पियान इन्दाह अपार्टमेन्टबाट सुटकेसभित्र कोचिएको अवस्थामा एक विदेशी महिलाको मृत शव फेला परेको छ। प्रारम्भिक जानकारी अनुसार मृतक नेपाली नागरिक हुन सक्ने बलियो आशंका गरिएको छ।

प्राप्त विवरणअनुसार उक्त अपार्टमेन्टको तेस्रो तलामा रहेको कोठा करिब तीन महिनाअघि एक नेपाली महिला र एक पुरुषले भाडामा लिएका थिए। पछिल्लो समय भाडा नतिरेको र पटक–पटक सम्पर्क गर्दा पनि फोन नउठेपछि घरबेटी आफैं कोठा निरीक्षण गर्न पुगेका थिए।

कोठाभित्र प्रवेश गर्दा अत्यन्त फोहोर अवस्था रहेको र तीव्र दुर्गन्ध फैलिएको पाइएको थियो। बैठक कोठाको एक कुनामा राखिएको ठूलो कार्टुन बक्सबाट तरल पदार्थ बगिरहेको देखिएपछि घरबेटी झन् सशंकित बने। बक्सभित्र रहेको ठूलो सुटकेस अस्वाभाविक रूपमा फुलेको अवस्थामा देखिएपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए।

काजाङ जिल्ला प्रहरी प्रमुख नाजरोन अब्दुल युसुफका अनुसार जुन २८, २०२६ को राति करिब ८:३७ बजे घटनाको सूचना प्राप्त भएपछि फरेन्सिक टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो।

प्रहरीका अनुसार मृतकसँग कुनै पनि आधिकारिक परिचय खुल्ने कागजात, जस्तै राहदानी वा परिचयपत्र, फेला परेको छैन। शवलाई पोस्टमार्टमका लागि काजाङ अस्पताल पठाइएको छ भने मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

मलेसियाली प्रहरीले घटनालाई क्रूर हत्याको रूपमा दर्ता गर्दै पेनल कोडको धारा ३०२ अन्तर्गत विस्तृत अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी तथा हत्याको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।

यस घटनाले मलेसियामा रहेका नेपाली समुदायमा गहिरो चिन्ता र त्रास फैलाएको छ। यद्यपि मृतक नेपाली नै भएको विषयमा प्रहरीले हालसम्म आधिकारिक पुष्टि गरिसकेको छैन। समाचार स्रोत : स्थानीय मिडिया