दोहोरी प्रतियोगितमा नगरकोट दोहोरी साँझ प्रथम, २ लाख ५० हजार रुपैयाँ सहित पुरस्कार।

काठमाडौं:= राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता-२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको छ । विभिन्न ६० वटा लोक दोहोरी टोलीलाई उछिन्दै काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझ दोहोरी गायन प्रतियोगितामा उत्कृष्ट भएको हो ।

प्रतियोगितामा मुलुकका ४५ भन्दा बढी जिल्लाबाट यो प्रतियोगितामा विभिन्न ६१ वटा टोली सहभागी भएका थिए । १६ चैतबाट काठमाडौंको भृकुटी मण्डप बगैँचामा यो प्रतियोगिता सुरु भएको थियो । उत्कृष्ट चयनसहित पुरस्कार प्रदान गर्दै आइतबार अबेर साँझबाट यो प्रतियोगिता सम्पन्न भएको छ ।

खुला प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा नगरकोट दोहोरी र गामबेंसी दोहोरी साँझबीच कडा प्रतिस्पर्धा भएको थियो । जसमा गामबेंसी दोहोरी साँझलाई पछि पार्दै नगरकोट दोहोरी साँझको टोली जीवन सिग्देल र अस्मिता डल्लाकोटी उत्कृष्ट हुनुभयो ।

उहाँहरूले लोक दोहोरीतर्फको राष्ट्रिय रनिङ शिल्डसँगै २ लाख ५० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतिस्प्र्धा निकै प्रतिस्पर्धा भए पनि आफूहरूले आत्म विश्वासका साथ प्रस्तुत गरेको तुक्काका कारण उत्कृष्ट भएको जीवन र अस्मिताले बताउनुभयो ।

यस्तै यो राष्ट्रिय प्रतियोगितामा गामबेंसी दोहोरी साँझ द्वितीय भयो । गामबेंसी दोहोरी साँझ काठमाडौंका अर्जुन खड्का र शान्ता ओली द्वितीय पुस्कारस्वरूप ट्रफी, पदक र १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । यस्तै सो प्रतियोगितामा यसपटक दुई समूहले तृतीय स्थान हाँसिल गरे ।

अन्तिम प्रतिस्पर्धामा उत्रिएर पहिलो र दोस्रो हुनेसँग भिडेका बाँकी दुई टोली काठमाडौंको क्वीन रोदी क्लब र लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठान तृतीय भएका हुन् । तेस्रो हुने टोलीले १ लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । क्वीन रोदी क्लबका श्याम राना र हरिमायाँ रायमाझीसँगै लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठानका विक्रमबाबु विश्वकर्मा र लक्ष्मी बस्नेतले तृतीय स्थान हाँसिल गर्नुभएको हो ।

आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, संरक्षक पृथ्वी थकालीसहित पूर्वअध्यक्ष तथा अन्य अतिथिले उनीहरूलाई कार्यक्रममा पुरस्कार प्रदान गर्नुभयो । शनिबारै कार्यक्रम सक्ने भनिए पनि शनिबार प्रतिस्पर्धा नसकिएपछि आइतबार उत्कृष्ट १६ बीच क्वार्टरफाइनल, सेमी फाइनल हुँदै फाइनल खेल भएको थियो ।

यसैगरी यस प्रतियोगितामा समुन खड्का, राजु लामिछानेले उत्कृष्ट पुरुष कलाकारको तथा पूजा पुन र अर्चना चापागाईंले उत्कृष्ट महिला कलाकारको पुरस्कार जित्नुभयो । उहाँहरूले पुरस्कारस्वरूप जनही १० हजार रुपैयाँ र प्रमाणपत्र पाउनुभएको थियो । यस्तै अनुशासित टिमको पुरस्कार ओखलढुंगा लोक दोहोरी प्रतिष्ठान टिमले हाँसिल गरेको छ ।

उत्कृष्ट अनुशासित टिमको पुरस्कार स्वरूप प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरियो । प्रतियोगितामा निकै राम्रा गीत गाएका नवकलाकार निशान्त विक र दिलकुमारी विकले नवप्रतिभा प्रोत्साहन पुरस्कार स्वरूप जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो । यसैगरी भद्रकाली आमा समूहलाई प्रोत्साह पुरस्कार स्वरूप ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो ।