सडकमा नाला, स्थानीय जनप्रतिनिधिको बेवास्ता।

[ सञ्जिव कुमार मिक्ष्रा ] 

बारा:= कुनै पनि मानिस नालाको फोहोर पानी तरेर कहीँ जान आउन मान्दैनन् । बाध्यता नभए त्यो बाटोसमेत हिँड्न रुचाउँदैनन् । खुला नाला हेर्नेबित्तिकै हामी नाक थुन्छौँ । थुक फाल्छौँ । तर, त्यही नालाको फोहोर पानी हुँदै कलैया उपमहानगरपालिका-१ विक्रम बगैँचा टोलका स्थानीयहरू दिनहुँ आवतजावत गर्न बाध्य छन् । मानमत मटिअर्वा कलैया सडकखण्डस्थित तीनकुने चौकभन्दा एक सय मिटर पूर्व रहेको यो टोल अहिले नालाको पानीले अस्तव्यस्त र दुर्गन्धित बनेको छ ।

लामो समयदेखि समस्या खेप्दै आएका टोलबासीहरूले जनप्रतिनिधि आएपछि विकास त अवश्य नै गर्छन् भनेर वडाध्यक्ष हरिओम साह सोनारलाई जिताए । उहाँ चुनावमा विजयी भएपछि केही गर्लान् भन्ने आशामा टोलबासीहरूले पाँच वर्ष बिताए तर समस्या अहिले पनि जस्ताको त्यस्तै रहको उनीहरूको आरोप छ । सडकको माथि नालाको पानी दुई फिटसम्म जम्दा पनि वडाध्यक्ष सोनारको ध्यान नपुगेको उनीहरूले हिमालय टाइम्ससँग गुनासो गरेका छन् ।

कलैया उपमहानगरपालिका-१ बिक्रम बगैँचा टोलका स्थानीय विष्णु पौडेलले टोलबासीहरू नालाको फोहोर पानी तरेर हिँड्न बाध्य रहेको सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘सडक र नाला निर्माणको लागि पटक-पटक तोकेता गर्दा पनि कुनै सुनुवाइ भएन । वडाध्यक्ष सोनारलाई पटक–पटक सडक र नाला निर्माणको लागि लिखित तथा मौखिक ध्यानाकर्षण गरायौँ, तर उहाँ कानमा तेल हालेर बस्नुभएको छ ।’

वडाको विकास गर्न जिम्मा लिएका जनप्रतिनिधि नै यसरी कानमा तेल हालेर सुतिदिँदा आफूहरू फोहोर पानी तर्न बाध्य भएको कलैया उपमहानगरपालिका–१ का संजय कुशवाहाले बताउनुभयो । सडक नाला निर्माणभन्दा पनि आफ्नो खल्ती भर्ने कार्यमा वडाध्यक्ष सोनार लागेको कारण सडक र नालाको अवस्था दिनानुदिन दयनीय बन्दै गएको कुशवाहाको आरोप छ।

सडकमा जमेको पानी घरभित्र छिर्छ विक्रम टोलका रामबहादुर क्षेत्रीले भन्नुभयो, ‘समान्य रूपमा मानिसहरू नालाको फोहोर पानी छुन पनि मन पराउँदैनन् । नालाको फोहोर पानी छोयो भने विभिन्न रोगका किटाणुहरू सर्छ भन्ने हामीलाई ज्ञान छ, तर वडाध्यक्ष सोनारले सडक र नालाको निर्माण नगर्दा नालाको पानी घरमा जान्छ । ती पानी हामीले घरबाट निकाल्न बाल्टिन प्रयोग गर्नुपर्ने अवस्था छ ।’

यस्तै, टोलका अन्य स्थानीयहरूले समेत तत्काल नालाको व्यवस्थापन गर्न गरेका छन् । उनीहरूले माग सम्बोधन नभए आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् । कलैया उपमहानगरपालिका–१ का वडाध्यक्ष हरिओम साह सोनारले भने नालाको फोहोर पानी हटाउने र तत्काल सडक निर्माण सुरु गरिने हामीसँगको कुराकानीमा बताउनुभयो ।