काठमाडौं:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको पालामा जारी चुच्चे नक्सा हटाएर ‘दलाली’ गरेको आरोप लगाउनुभएको छ । एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाउनुभएको हो । ‘प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ आएन’, उहाँले भन्नुभयो, ‘आखिर यसकै लागि जानुभएको रहेछ, चुच्चे नक्सा गायव गर्नुपरेको रहेछ ।’
नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा लिम्पियाधुरा–कालापानी नसमेटिएको पुरानै नेपालको नक्सा राखिएको भेटिएपछि ओलीले यस्तो आरोप लगाउनुभएको हो । ‘दिल्लीस्थित नेपालको राजदूतावासमा टाँगिएको फोटोमा नेपालको नक्सा बुच्चे नक्सा छ’, उहाँले भन्नुभयो, ‘यसभन्दा राष्ट्रिय दलाली, राष्ट्रको गौरव निहुराउने लज्जाजनक कुरा अरू के हुन्छ ?’ ओलीले भारतबाट फर्किनुअघि चुच्चे नक्सा राखेर आउने–नआउनेबारे पनि प्रधानमन्त्रीसँग जवाफ माग्नुभएको छ।
‘हाम्रो संविधानले भनेको रहेको नक्सा, हाम्रो सरकारले बनाएको नक्सा त्यो नक्सा झुण्ड्याएर फर्किनुहुन्छ कि, हटाएको राखेर फर्किनुहुन्छ शेरबहादुरजी ?’, उहाँले भन्नुभयो । सरकारले राष्ट्रियता र भौगोलिक अखण्डताविरुद्ध गतिविधि बढाइरहेका बेला बुद्धिजीविहरू हात बाँधेर बसिरहेको ओलीले आरोप लगाउनुभयो ।
यसैबीच, अध्यक्ष ओलीले भ्यु टावर निर्माणको बचाउ गर्नुभएको छ । पछिल्लो समय भ्यु टावरमा लगानी गरेर जनताको करबाट उठाएको रकमको दुरुपयोग भएको भन्दै आलोचना बढेकोप्रति असन्तुष्टि जनाउँदै ओलीले आफ्नो कार्यकालमा बनेका भ्यु टावर भन्दै तिनीहरूको बचाउ गर्नुभएको हो ।
एमालेले सुरु गर्न लागेको ‘सामाजिक सेवा केन्द्र’को आइतबार सुरुवात गर्दै ओलीले भ्यु टावरको आलोचना भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको हो । ‘हामीले बनाएका भ्यु टावरहरू सभ्यता, विकास, व्यापारिक र अन्य आर्थिक क्रियाकलापका केन्द्र हुन् । हाम्रा पर्यटनका स्थलहरू हुन् ।
हाम्रा स्वदेश र विदेशका मान्छेहरू, आन्तरिक पर्यटन र बाह्य पर्यटन समेतलाई आकर्षित गर्ने कुरा हुन्,’ भ्यु टावरको विरोध गर्नेहरूलाई ओलीले भन्नुभयो, ‘तर केही मान्छे बुझ्दैनन् र के भन्छन् भने अब उनीहरूको पार्टीको नाम लिएर हाम्रो पार्टीले भ्यु टावर बनाउन्न भनेर कसम खानुपर्नेछ, प्रतिज्ञा गर्नुपर्नेछ, धर्म भाक्नुपर्नेछ भन्दै हिँड्छन् ।’




















