काठमाडौं := सरकारले अन्तरप्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारीको भाडा बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार लामो दूरीका सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो । मन्त्रालयको निर्णयानुसार यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढाएको छ ।
पहाडमा चल्ने मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको विभागले जनाएको छ । यातायात व्यवसायीहरूको माग सम्बोधन गर्दै सरकारले भाडा बढाएको हो । बिहीबार बसेको मन्त्रीस्तरीय बैठकबाट निर्णय भएअनुसार विभागले आइतबार भाडादर सार्वजनिक गरेको हो । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेपछि यातायात व्यवसायीहरूले गाडी भाडा बढाउन माग गर्दै आएका थिए ।
१३ वटा इन्डिकेटरलाई आधार मानेर भाडा समायोजन गरिएको विभागले जनाएको छ । विभागका अनुसार भाडा समायोजना गर्दा ३५ प्रतिशत पेट्रोलियम पदार्थलाई आधार मानिएको छ । पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिलाई आधार बनाएर भाडा बढाइएको विभागले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरूले सवारीसाधनको भाडा बढाउन माग गर्दै आएका थिए ।
अब गाडीका पार्टपुर्जासहित अन्य पक्षको मूल्यवृद्धिसँगै हरेक वर्ष भाडा समायोजन हुनेछ । सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरूप अहिलेसम्म पेट्रोलमा पाँच रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था थियो । तर, सो व्यवस्था प्रभावकारी नभएपछि विभागले पाँच प्रतिशत मूल्य घटबढ भए मात्रै समायोजन गर्ने व्यवस्था गरिएको हो । यसअघि गत असारमा पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि गरिएको थियो । एक वर्षमै पुनः दोस्रोपटक सार्वजनिक सवारीको भाडा बढेको हो ।
‘स्तरीय डिलक्स’ले थप २० प्रतिशत बढी भाडा लिन पाउने
लामो दूरीमा चल्ने ‘स्तरीय डिलक्स’ले भने तोकिएको भन्दा २० प्रतिशत थप भाडा लिन पाउने भएका छन् । यातायात व्यवस्था विभागका अनुसार सवारी परीक्षण कार्यालयबाट स्तरीय डिलक्सको रूपमा स्तर कायम भई सवारी दर्ता प्रमाणपत्र (ब्लु बुक) स्तर प्रमाणित भएका यात्रुबाहक सवारीले तोकिएको भन्दा २० प्रतिशत बढी भाडा लिन पाउने भएका हुन् ।
अन्यको हकमा भने तराईको लामो दूरी २५ किलोमिटरभन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुबाहक बसले प्रतिकिमी प्रति व्यक्ति दुई रुपैयाँ ६७ पैसा भाडादर कायम गरिएको छ । २५ देखि २५० किमीसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुबाहक बस/मिनिबसको लागि प्रतिकिमी भाडादर दुई रुपैयाँ ७४ पैसा कायम गरिएको छ । काठमाडौं-पोखरा र पोखरा-नारायणघाट खण्डको लागि प्रतिव्यक्ति प्रतिकिमी दुई रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।
छोटो दूरीको भाडादर प्रदेश सरकारले तोक्ने
छोटो दूरीमा गुड्ने सार्वजनिक सवारीको भाडादर भने प्रदेश सरकारले बढाउने भएका छन् । यातायात व्यवस्था विभागका अनुसार छोटो दूरीको भाडा बढाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ । गत असार २७ को मन्त्रीस्तरीय निर्णयानुसार प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको गाडी भाडा प्रदेश सरकारले बढाउन सक्नेछन् ।
छोटो दूरीको सवारीमा गत कात्तिक १ गतेदेखि लागू हुनेगरी बागमती प्रदेशले भाडादर बढाएको थियो । उक्त भाडादरमा सार्वजनिक यातायात व्यवसायीले आपत्ति जनाउँदै आएका छन् । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधन व्यवसायीले भाडा बढाउन प्रदेश सरकारसँग माग गर्दै आएका छन् । तस्बिर : नवराज श्रेष्ठ/हिटा




















