प्रधानमन्त्री देउवाको भारत भ्रमण: चार सम्झौतामा हस्ताक्षर र चार परियोजनाको संयुक्त उद्घाटन।

काठमाडौं:= छिमेकी मुलुक भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको मुद्दा उठाउनुभएको छ। प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँग नेपाल-भारतबीचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गर्नुभएको हो ।

हैदरावाद हाउसमा शनिबार भएको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘हामीले सीमा विवादका विषयमा छलफल गर्‍यौँ । र, मैले मोदीजीलाई दुई देशबीचको सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेको छु । यो विषयमा मोदीजीले द्विपक्षीय संयन्त्र स्थापित गरेर छलफल गर्नेबारे हामी सहमत भएका छौँ ।’

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भारतको प्रगतिबाट नेपालले पनि फाइदा लिन चाहेको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले हासिल गरेको आर्थिक प्रगतिको प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले नेपालले पनि आर्थिक साझेदारीमार्फत त्यसबाट फाइदा लिन चाहेको बताउनुभएको हो । भारतमा न्यानो आतिथ्यका लागि भारतीय समकक्षीलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘हामी दुईबीच दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा छलफल भएको छ । दुई देशका प्रतिनिधि मण्डलबीच दुई देशबीचको सहकार्यका बृहत्तर आयाममा चर्चा भएको छ ।’

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध सदियौँ पुरानो रहेकाले यसलाई सुदृढ बनाउनुपर्नेमा दुवै समकक्षी सहमत भएको जानकारी दिनुभयो । यस्तै, आपसी सम्बन्ध, दुई देशको विकास, व्यापारलगायत विषयमा दुई देशका प्रधानमन्त्रीबीच गहन छलफल भएको प्रधानमन्त्री देउवाको भनाइ थियो । उक्त अवसरमा प्रधानमन्त्री देउवाले भूकम्प र कोरोना महामारीका बेला भारतले गरेको सहयोगका लागि धन्यवादसहित प्रशंसा गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले सीमा विवादको विषय उठाए पनि भारतीय प्रधानमन्त्री मोदीले भने कुनै प्रतिक्रिया दिनुभएन । नेपाल र भारतबीच पछिल्लो समय सीमा विवादका कारण समस्या भइरहेको छ । दुई मुलुकबीच सीमा समस्या समाधानको लागि पटक-पटक पहल भए पनि अघि बढ्न सकेको छैन । सन् २०१४ मा मोदीकै नेपाल भ्रमणका क्रममा सबैभन्दा बढी विवादमा रहेको कालापानी क्षेत्र र सुस्ता क्षेत्रका लागि वार्ता गर्नका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्र बनेको थियो । तर, अहिलेसम्म संयन्त्रको बैठकसमेत बस्न सकेको छैन ।

मोदीलाई नेपाल भ्रमणको निम्तो

भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । शनिबार भारतीय प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसमा भएको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै भन्नुभयो, ‘हामी दुवैजना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौँ । प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतीक्षारत छु । उच्चस्तरीय तहबाट हुने भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्छ ।’

भारतसमक्ष थप तीनवटा हवाई रुट उपलब्ध गराउन माग

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसमक्ष थप तीनवटा हवाई रुट उपलब्ध गराउन माग गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा कुराकानी भएको जानकारी दिँदै भन्नुभयो, ‘हामीले नागरिक उड्डयनको विषयमा पनि छलफल गरेका छौँ । हामीले नेपालको आग्रह अनुसारको नेपाल प्रवेशको थप हवाईमार्ग माग गरेका छौँ । महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट हवाई रुट माग गरेका छौँ । भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि सहयोगको आग्रह गरेका छौँ ।’

नेपाल र भारतबीचको मित्रता विश्वमै उदाहरणीय : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको जस्तो मित्रता विश्वमा कहीँ नभएको उल्लेख गर्नुभएको छ । शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल-भारत सम्बन्धको चर्चा गर्नुभएको हो । भारतीय प्रधानमन्त्री मोदीले दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताउँदै भन्नुभयो, ‘भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्ध जस्तो उदाहरण विश्वमै कहीँ देख्न पाइँदैन । अनादिकालदेखि हामी एक-अर्काका सुख-दुःखका साथी रहेका छौँ ।’

प्रधानमन्त्री देउवाको भ्रमणबाट नेपाल-भारत सम्बन्धमा नयाँ आयाम आएको बताउँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘देउवाजी भारतको पुरानो मित्र, प्रधानमन्त्रीको रूपमा पाँचौँ यात्रा गर्नुभएको छ । नेपाल भारत विकासमा भारतको सधैँ सहयोग रहँदै आएको छ ।’ प्रधानमन्त्री देउवालाई नेपालका परिपक्व प्रधानमन्त्रीको संज्ञा दिनुभएका मोदीले नेपाल-भारतबीचको सम्बन्धलाई भ्रमणले नयाँ उचाइमा पुर्‍याउनेसमेत विश्वास व्यक्त गर्नुभयो । कुनै पनि अवाञ्छित तत्वले नेपाल र भारतको भूमि प्रयोग गरेर गतिविधि गर्न नपाओस् भन्नेमा आफूहरू सचेत रहेको भन्दै प्रधानमन्त्री मोदीले नेपालको शान्ति, विकास र प्रगतिमा भारत सधैँ साथमा रहेको बताउनुभयो । नेपाल-भारत अनादिकालदेखि नै सुख दुःखको साथी रहेको बताउँदै प्रधानमन्त्री मोदीले नेपालको विकासका लागि भारत जहिल्यै तत्पर रहेको बताउनुभयो ।

पञ्चेश्वर परियोजना गेम चेन्जर परियोजना 

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अगाडि बढाउन जोड दिएको बताउनुभएको छ । भारतका प्रधानमन्त्री मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुनेसमेत बताउनुभयो । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा दुई देशबीच ऊर्जा साझेदारीमा महत्वपूर्ण हुने भन्दै मोदीले भन्नुभयो, ‘ऊर्जा सहकार्यमा हाम्रो संयुक्त दृष्टिकोण आपसी सहयोगको ब्लुप्रिन्ट सावित हुनेछ । हामीले पञ्चेश्वर परियोजनामा तीव्र गतिले अगाडि बढ्ने र त्यसको महत्वमा जोड दिएका छौँ । यो परियोजना यो क्षेत्रको विकासका लागि एक गेमचेन्जर सिद्ध हुनेछ ।’

भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबीच सहमति भएको समेत मोदीले उल्लेख गर्नुभएको छ । नेपालले आफूलाई बढी भएको विद्युत् भारतमा निर्यात गरिरहेकोमा प्रधानमन्त्री मोदीले प्रसन्नतासमेत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवा र आफूले व्यापार र सबै प्रकारका क्रस बोर्ड कनेक्टिभिटीलाई प्राथमिकता दिने सहमति गरेको जानकारी दिँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘नेपाल पुलिस एकेडेमी, नेपालञ्जमा एकीकृत भन्सार जाँच चौकी, रामायण सर्किट आदिले यसलाई सघाउनेछ । ओपन बोर्डरको दुरुपयोग नहोस् भनेर छलफल गरौँ । सुरक्षा सहयोगमा जोड दिएका छौँ ।’

देउवा र मोदीबीच सीमा विवादबारे संक्षिप्त चर्चा : भारतीय विदेश सचिव

भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल र भारतका प्रधानमन्त्रीबीच सीमा विवादका विषयमा संक्षिप्त कुरा भएको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे जानकारी दिन शनिबार भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको विशेष पत्रकार सम्मेलनमा विदेश सचिव श्रृंगलाले दुई मुलुकका प्रधानमन्त्रीबीच सीमा विवाद र सुरक्षाका विषयमा संक्षिप्त चर्चा भएको जानकारी दिँदै सिमानाको विषयमा राजनीतिकरण गरिन नहुने बताउनुभएको हो । विदेश सचिव श्रृंगलाले भन्नुभयो, ‘सुरक्षा र सीमाको विषयमा कुरा छ, प्रधानमन्त्री देउवाले त्यस विषयमा प्रेस स्टेटमेन्टमा कुरा भन्नुभएको थियो । यो विषयमा पनि संक्षिप्त रूपमा चर्चा भएको छ । सामान्य बुझाइ के हो भने दुवै पक्षले यसलाई जिम्मेवारीपूर्ण ढंगले छलफलहरू हाम्रो निकट र मित्रवत सम्बन्धको हुनुपर्छ । यसलाई राजनीतिक विषय बनाउने कामबाट बच्नुपर्छ । सुरक्षा वा सीमाको विषयमा संक्षिप्त छलफल भयो । यसलाई संवादको माध्यमबाट समाधान गर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाको भारत भ्रमण निकै राम्रो दिशामा गएको जिकिर गर्दै श्रृंगलाले भन्नुभयो, ‘जति विषयहरू आएका छन् जुन सकारात्मक रचनात्मक एजेण्डामा रहेका छन् । यो हामीले सूचना दिएका छौँ । त्यसैगरी, ऊर्जाको बारेमा जुन सहकार्य छ त्यसको विषयमा पनि सूचना दिनेछौँ । यति धेरै विषयहरू कभर भएको छ । दुवै देशका जनताको फाइदाका लागि धेरै विषयहरू रहेका छन् । यसमा धेरै लाभ प्राप्त हुन्छ ।’

वान टु वान वार्तापछि सम्झौतामा हस्ताक्षर 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न चार वटा सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टु वान वार्तापछि भएको दुई देशको प्रतिनिधिमण्डलबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच अन्तराष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति तथा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।

जनकपुर-जयनगर रेलसेवाको संयुक्त उद्घाटन 

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा जनकपुर-जयनगर रेल सेवा उद्घाटन गर्नुभएको छ । नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसबाट देउवा र मोदीले शनिबार हरियो झण्डा देखाएर रेलसेवा उद्घाटन गर्नुभएको हो । दुई मुलुकका प्रधानमन्त्रीले उद्घाटन गरेसँगै जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको छ । योसँगै अब नियमित रूपमा रेल चल्नेछ ।

भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्व-पश्चिम राजमार्गको बर्दिवासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत उद्घाटनपछि रेलले अब जयनगरदेखि कुर्थासम्म यात्रु ओसार्ने काम नियमित हुने बताइएको छ । अनलाइन प्रविधिबाट रेलको टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ । टिकटमा क्युआर कोड हुनेछ । रेलमा यात्रा गर्ने यात्रुको टिकट अनलाइनबाटै जाँच गर्ने उपकरण टिटीलाई उपलब्ध गराइएको छ ।

आइतबारदेखि रेल बिहान र दिउँसो दुईपटक यात्रु लिएर जयनगर-कुर्था खण्डमा चल्नेछ । जनकपुर-जयनगर ७० र कुर्था-जयनगर ९० रुपैयाँ भाडा कायम गरेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । एसी सिटका लागि भने जनकपुर-जयनगर ३५० र कुर्था-जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको छ । २०७७ असोजमा दुवै रेल सेट भारतबाट जनकपुर ल्याइएको थियो । तर, लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो ।

सोलु करिडोर प्रसारण लाइन उद्घाटन 

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले सोलु करिडोर प्रशारण लाइनको उद्घाटन गर्नुभएको छ । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित एक कार्यक्रमबीच भर्चुअलबाट प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले १३२ केभीको ९० किलोमिटर लामो प्रशारण लाइनको उद्घाटन गर्नुभएको हो ।

सोलु करिडोर विद्युत् प्रसारण लाइन सोलुखुम्बुमा उत्पादित जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न भारतको निर्यात आयात बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा बनाइएको हो । सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिन्लास्थित सबस्टेसनसम्म ३०२ वटा टावरसहित सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

‘रुपे’ डिजिटल कार्ड नेपालमा पनि प्रयोगमा आउने

यसैबीच, भारत सरकारले चलनमा ल्याएको ‘रूपे’ डिजिटल कार्ड नेपालमा प्रयोगको लागि शुभारम्भ भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीले दिल्लीस्थित हैदरबाद हाउसमा शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा ‘रूपे’ कार्डको संयुक्त उद्घाटन गर्नुभएको हो । संयुक्त प्रेस पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले यो कार्ड फाइनान्सियल कनेक्टिभिटीमा नयाँ अध्याय भएको बताउनुभएको छ ।

भारतको ‘नेसनल पेमेन्ट कर्पोरेशन अफ इण्डिया’मा आबद्ध भएको रूपे भारत आफैँले विकास गरेको डिजिटल कार्ड हो । ‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै उक्त कार्ड भारतका बैंकहरूले चलाइरहेका छन् । उक्त कार्डलाई अब नेपालको बैंकसँग पनि जोड्न सकिनेछ । रूपे कार्डबाट नेपालमा पनि भुक्तानीको सुविधा पाइने जनाइएको छ ।

यस्तै, प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले शनिबार नयाँदिल्लीबाट भारतको सहयोगमा २०७२ सालको भूकम्पपछि पुनर्निर्माण भएका स्वास्थ्यचौकीको उद्घाटन गर्नुभएको छ । दुईदेशका प्रधानमन्त्रीले संयुक्त रूपमा भारतको सहयोगमा पुनर्निर्माण भएका १३२ स्वास्थ्यचौकीको प्रगति अवलोकन र उद्घाटन गर्नुभएको हो ।

संयुक्त पत्रकार सम्मेलनअघि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्तामा दुईदेशका प्रधानमन्त्रीबीच दुई पक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । दुई प्रधानमन्त्रीका बीचमा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ सुदृढताका साथ अगाडि बढाउने उपायबारे विचार आदानप्रदान भएको जनाइएको छ ।

द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री देउवा र समकक्षी मोदीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । भेटवार्तामा प्रधानमन्त्री देउवाले समकक्षी मोदीले २०१४ मा गरेको नेपाल भ्रमणको स्मरणसमेत गराउनुभएको थियो । मोदी २०१४ मा भारतको प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपाल भ्रमण गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले शनिबार दिउँसो ४ः३० बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री देउवाले शनिबार साँझ नै भारतीय व्यापारिक समुदायसँग पनि अन्तरक्रिया गर्नुभएको छ । भारत भ्रमणको तेस्रो दिन आज (आइतबार) प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डल धार्मिक शहरको रूपमा प्रसिद्ध बनारस जाने कार्यक्रम छ ।

बनारस भ्रमण भने प्रधानमन्त्री देउवाको विशुद्ध धार्मिक गतिविधिमा मात्र केन्द्रित रहने बताइएको छ । बनारसमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम रहेको छ । तीनदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री देउवा आजै काठमाडौ फर्किनुहुनेछ ।