[ पुरन शाह ]
जनकपुरधाम:= शनिबार नेपालको एक मात्र रेल्वे सेवा नेपाल रेल्वे दुल्ही झैँ सजिएर जनकपुरधाम आइपुग्यो । भारतको हैदराबाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्रीद्वयले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल्वेको समुद्घाटन गरेपछि रेल धनुषाको जनकपुरधाम यसरी आइपुगेको हो ।
नेपाली समयानुसार दिउँसो १२ बजेर ५५ मिनेटमा भारतको हैदराबाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्रीद्वयले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल्वेको समुद्घाटन गरेको एक घण्टा ४५ मिनेटपछि रेल जनकपुरधाम आइपुगेको हो । प्रधानमन्त्रीद्वयले समुद्घाटन गरेको दृश्य र जनकपुरधामको रेल्वे स्टेसनमा रेल आउनेबित्तिकै नेपाल-भारतको झण्डा फहराइनुका साथै चर्को ताली बजेको थियो ।
ब्यग्र प्रतीक्षाबीच जनकपुरधाम आइपुगेको रेल्वे हेर्ने जनकपुरधामसहित यस क्षेत्रका स्थानीय मात्र होइन भारत बिहारको विभिन्न जिल्लाका स्थानीयहरू जनकपुरधाम आएका थिए । रेल्वे सञ्चालन र समुद्घाटनपछि स्थानीयमा उत्साह छाएको छ ।
रेल्वे सञ्चालनसँगै भारतीय खाद्यान्न र सरसमानहरूको आयात सहज हुने र प्रतिकिलो खाद्यान्नको भाउमा करिब १० रुपैयाँले सस्तो हुने विश्वास जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको छ । ३४ दशमलव पाँच किलो मिटरको जयनगर-कुर्था स्टेसनसम्मको यात्राका लागि यात्रुले सामान्य टिकटबापत ७० रुपैयाँ र वातानुकुलित सिटका लागि ४५० सम्म शुल्क तिर्नुपर्ने हुन्छ ।
दैनिक दुईपटक जनकपुरधामदेखि कुर्थासम्म आवतजावत गर्ने रेल जनकपुरधामबाट बिहान ९ः५५ र बेलुकी ४ः३० मा जयनगरका लागि प्रस्थान गर्नेछ । यात्रुका लागि रेलमा सवारीका गर्न कुनै न कुनै परिचय खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ । रेल्वे सञ्चालनमा आएपछि धनुषा मात्र नभर मधेशका अन्य जिल्लाका स्थानीय पनि खुसी देखिएको छ । रेल्वे सञ्चालनले नेपाल भारतको सम्बन्ध प्रगाढ हुने, आर्थिक गतिविधि चलायमान हुने र आवागमनमा सहजता हुने सप्तरीबासी बताउँछन् ।
जनकपुरधाममा आयोजित समुद्घाटन समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरू, प्रदेश तथा संघीय सांसदसहित कांग्रेस र जसपाका अधिकांश नेताहरूको सहभागिता देखिएको थियो । समुद्घाटन कार्यक्रममा लोसपा, माओवादी तथा एमालेका नेताहरू भने देखिएनन् ।




















