अभावको आशंकाले पेट्रोल पम्पमा दिनभर लाइन, एलपी ग्यासमा समेत कृत्रिम अभाव।

काठमाडौं:= काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव हुने देखिएको छ । पेट्रोलिय पदार्थको अभाव हुने आशंकाबीच उपत्यकाका पेट्रोल पम्पहरूमा उपभोक्ताको भिड लाग्न थालेको छ । पेट्रोलियम पदार्थ ढुवानी अवरोध भएसँगै काठमाडौंका धेरै पेट्रोल पम्पहरू बन्द गरिएका छन् भने खुलेका कतिपयमा पेट्रोल छैन भन्दै पम्पलेट टाँगिएका छन् । खुलेका पम्पहरूमा शुक्रबार साँझदेखि उपभोक्ताको लाइन लागेको थियो ।

लाइन शनिबार पनि देखियो । व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि अभाव हुने आशंकामा पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन लागेको हो । मूल्य बढ्न सक्ने र अभाव चर्किने आशंकाले मानिसहरूले भाँडोमा समेत पेट्रोलियम पदार्थ भरेर लान थालेका छन् । एक्कासि धेरै मानिसहरू तेल भर्न लाइन लाग्दा पेट्रोल पम्पहरूले पनि मागअनुसार तेल दिन सकेका छैनन् ।

शुक्रबार भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूचीअनुसार पेट्रोलमा लिटरमा २७ रुपैयाँ घाटा कायम रहेको भन्दै निगमले विज्ञप्ति निकालेका कारण पनि आजभोलि नै मूल्य बढ्ने आशंकाले तेल हाल्न उपभोक्ताहरू लाइन लागेका हुन् । शुक्रबार खरिद नगरेकाले बिहीबारै उठाइएको पेट्रोलियम पदार्थ बाँकी भएका केही निजी र नेपाली सेना, प्रहरी, सशस्त्र र साझाले शनिबार पेट्रोलियम पदार्थ बिक्री गरेका छन् ।

आयल निगमले मूल्य बढाए पनि आफूहरूले पाउने कमिसन नबढाइएको भन्दै पेट्रोलियम व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले पेट्रोलियम ढुवानीको भाडा पनि बढाउन माग गरेका छन् । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले शुक्रबारदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौती गरेको थियो । लगातारको मूल्यवृद्धिका कारण निगमले पेट्रोलियम पदार्थमा दिँदै आएको कमिसन फागुन १९ गतेदेखि कटौती गरेको हो ।

पेट्रेल पम्प मात्रै होइन खाना पकाउने ग्यासको समेत कृत्रिम अभाव सिर्जना गरिएको छ । ग्यास बिक्रेताहरूले खाना पकाउने ग्यास नभएको भन्दै उपभोक्तालाई रित्तो फर्काउन थालेका छन् । ग्यास सिलिण्डर साट्न जाँदा बिक्रेताहरूले नभएको भन्दै रित्तो हात फर्काउने गरेको उपभोक्ताको गुनासो छ । ग्यास डिलरहरूले पूर्ववत् अवस्थामा कमिसनको व्यवस्था नभए अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी दिएका छन् ।

पेट्रोलियम पदार्थको समस्या हल गर्न खाँणको निर्देशन

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । पेट्रोलियम पदार्थको सम्भावित आपूर्ति रोकावट र उपभोक्ता पेट्रोल पम्पमा लामो लाइन लाग्न थालेपछि कार्यबहाक प्रधानमन्त्री तथा गृहमन्त्री खाँणले समस्या तत्काल समाधान गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको हो ।

खाँणले आपूर्ति सचिव गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएको हो । उहाँले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुनपर्ने चेतावनीसमेत दिनुभएको छ ।

व्यवसायीहरूले पेट्रलियम पदार्थ बेचे/नबेचेको अनुगमन गर्न खाँणबाट निर्देशन आएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरूको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरूमा उपभोक्ताको लामो लाइन लागेको थियो । नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार भएको वार्तामा सहमति भएपछि व्यवसायी र नेपाल आयल निगमले चार बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

व्यवसायीले राखेका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको छ । तीबाहेक अरु मागका बारेमा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल एलपी ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले सबै विरोधका कार्यक्रम फिर्ता लिएका छन् र उनीहरूले पेट्रोलियम पदार्थ र एलपी ग्याँसको ढुवानी र बिक्री वितरण यथावत सञ्चालन गर्ने भएका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा नेपाल पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्व अर्याल र नेपाल आयल निगमका तर्फबाट प्रवक्ता विनितमणि उपाध्यायले हस्ताक्षर गर्नुभएको छ ।