चरम आर्थिक संकट व्यहोरिरहेको श्रीलंकामा संकटकाल घोषणा।

कोलम्बो:= चरम आर्थिक संकट व्यहोरिरहेको श्रीलंकामा संकटकाल घोषणा भएको छ । आर्थिक संकटका कारण देशभर सरकारविरोधी प्रदर्शन बढेपछि राष्ट्रपति गोटबाया राजपक्षेले मुलुकमा संकटकालको घोषणा गर्नुभएको हो । राष्ट्रपति भवनअगाडि प्रदर्शन भएपछि कर्फ्यु आदेश जारी भएको थियो । आपत्कालसँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धलाई विनाकुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानुनको आहृवान गर्नुभएको छ । राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन् ।

‘सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपत्काल घोषणा गरिएको’ उहाँले एक घोषणामा भन्नुभएको छ । यसअघि राजधानी कोलम्बोमा प्रदर्शन गर्ने कयौं आमनागरिक र स्वतन्त्र मानवअधिकारकर्मी कार्यकर्तालाई गिरफ्तार गरिएको थियो ।

दुई करोड २० लाख जनसंख्या भएको श्रीलंकाले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ । मूल्यवृद्धि आकाशिएको छ भने दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ भएको छ । कागजको अभावमा परीक्षाहरू नै स्थगित गरिएका छन् ।