मलेसियामाथि नेपालको ८५ रनको सानदार जित।

काठमाडौं:= त्रिवि क्रिकेट मैदानमा जारी टी-२० क्रिकेट शृंखलाको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको सानदार जित हात पारेको छ । जितसँगै यसअघि नै फाइनल पुगिसकेको नेपालले सोमबार हुने फाइनलमा पपुवा न्युगिनीको सामना गर्ने भएको छ ।

मलेसियासँग समान दुई÷दुई अंक भएपछि रनरेटले पछि पार्दै पपुवा न्युगिनी फाइनलमा प्रवेश गरेको हो । नेपालले लिग चरणका चारमध्ये चारवटै खेलमा जित हात पा¥यो । आठ अंकसहित शीर्षस्थानमा रहेर नेपाल र समान दुई अंक भए पनि रनरेटमा मलेसियालाई पछि पार्दै अंकतालिकामा दोस्रो स्थानमा रहेको पिएनजीबीच फाइनल भिडन्त हुने भएको हो । मलेसिया भने बाहिरियो ।

शनिबार नेपालले दिएको २२४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३८ रनमा समेटियो । मलेसियाका वीरनदीप सिंहले सर्वाधिक २४ रन जोड्नुभयो । २६ बलमा उहाँले नौ चौका हिर्काउनुभयो । यस्तै अहमद फैजले ३३, अमिनाल हाफिजले १८ तथा सायद अजिजले १७ रन थप्नुभएको थियो । त्यसबाहेक मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सक्नुभएन ।

नेपालका सन्दीप लामिछानेले तीन तथा कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले समान दुई/दुई विकेट लिनुभयो । सन्दीपले चार ओभरमा १९ रन खर्चनुभयो । यस्तै दीपेन्द्रले तीन ओभरमा २४ तथा कमलले दुई ओभरमा २० रन खर्चिनुभएको थियो । खेलको म्यान अफ दी म्याच दीपेन्द्र चुनिनुभयो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२३ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेलेपछि नेपालले उक्त स्कोर बनाएको हो ।

दीपेन्द्रले ५७ बलमा १० चौका र ६ छक्काको मद्दतमा ११० रनको नटआउट पारी खेल्नुभयो । शतकसँगै दीपेन्द्र टी-२० अन्तर्राष्ट्रियमा नेपालबाट शतक प्रहार गर्ने चौथो खेलाडीसमेत बन्नुभयो । यसअघि नेपालका तर्फबाट पूर्वकप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक प्रहार गरिसक्नुभएको थियो ।

शतकसँगै दीपेन्द्र टी-२० क्रिकेटको एकै खेलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडीसमेत बन्नुभयो । यसअघि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा १०७ रनको इनिङ्स खेल्नुभएको थियो । उक्त कीर्तिमानलाई दीपेन्द्रले तोड्नुभएको हो ।

दीपेन्द्र टी-२० आईमा सर्वाधिक रन बनाउने खेलाडीसमेत बन्नुभयो । उहाँले टी-२० आईमा ९७९ रन बनाउनुभएको थियो । उहाँअघि पूर्वकप्तान खड्काले ७९९ र मल्लले ७४८ रन बनाउनुभएको थियो ।

ऐरीबाहेक नेपालका लागि रोहित पौडेलले समेत करिअरको पहिलो अर्धशतक पूरा गर्नुभयो । ५१ रनको अर्धशतकीय इनिङ्स खेल्नेक्रममा उहाँले ३४ बलमा पाँच चौका हिर्काउनुभएको थियो । त्यसबाहेक आसिफ सेखले १८, मोहम्मद आदिल आलमले १४, कुशल भुर्तेलले १२ रन थप्नुभयो ।