काठमाडौं:= प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि आज (शुक्रबार) भारत जाँदै हुनुहुन्छ । भारतका समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा उहाँ भारत जान लाग्नुभएको हो । देउवा पाँचौँपटक प्रधानमन्त्री भएपछि पहिलोपटक भारतको भ्रमणमा जान लाग्नुभएको हो । प्रधानमन्त्री देउवाको यो पहिलो राजकीय भ्रमण पनि हो । टोलीमा देउवा पत्नी आरजू राणा देउवासहित परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत मन्त्रीहरू, सचिवहरू तथा पदाधिकारीहरू रहनुहुनेछ ।
मन्त्रालयका अनुसार भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार द्विपक्षीय वार्ता हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच शनिबार हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुनेछ । भारतीय प्रधानमन्त्री मोदीले सम्मानसहित नेपाली भ्रमण टोलीलाई सोही दिन दिवा भोज आयोजना गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही दिन प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुहुनेछ ।
भारतका विदेशमन्त्री एस. जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय छ । ‘भारत र नेपालबीच सदियौँ पुरानो र विशेष मित्रता र सहयोगको सम्बन्ध रहँदै आएको छ । हालका वर्षहरूमा सहयोगका क्षेत्रमा साझेदारी उल्लेखनीय वृद्धि भएको छ, भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रमणले दुई पक्षलाई व्यापक साझेदारीको समीक्षा गर्ने र दुई देशका जनताको हितमा अघि बढ्न अवसर प्रदान गर्नेछ ।’
भारत रहँदा प्रधानमन्त्री देउवाले वाराणासी र उत्तर प्रदेशको भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा व्यवसायीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँ तीनदिने औपचारिक भ्रमणपछि आइतबार स्वदेश फर्किनुहुनेछ ।
लामो समयपछि हुन लागेको भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्रीको पहिलो भारत भ्रमण राजनीतिक र कूटनीतिक केन्द्रित हुने विश्वास छ । भारतले नेपाली भूमि कालापानी लिपुलेक, र लिम्पियाधुरा समेटेर भारतले राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि नेपाल-भारत सम्बन्ध चिसिएको छ । त्यसपछि नेपाल र भारतबीच उच्चस्तरीय छलफल हुन सकेको छैन ।
नेपाल र भारतले नयाँ नक्सा प्रकाशन गरेपछि उच्च राजनीतिक तथा कूटनीतिक तहमा सौहार्दपूर्ण संवाद हुन सकेको थिएन । भारतसँग उच्च राजनीतिक तथा कूटनीतिक तहमा सौहार्दपूर्ण वार्ता र संवादको ढोका खोलेर नेपाल–भारत सम्बन्धलाई सामान्यीकरण गर्नु देउवाको पहिलो प्राथमिकता हुनेछ ।
भ्रमणका क्रममा विशेषगरी सीमा विवाद, प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदनको विषय, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, हुलाकी राजमार्ग, माथिल्लो कर्णालीलगायत विषय उच्चस्तरीय छलफल हुने बताइएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा जनकपुर-जयनगर रेलमार्गको उद्घाटनको कार्यक्रम छ ।
यो राम्रो अवसर हो, समस्या समाधानको सुरुवात हुनसक्छ : आचार्य

भारतका लागि पूर्व-नेपाली राजदूत नीलाम्बर आचार्य प्रधानमन्त्री देउवाको भारत भ्रमणले नेपाल-भारतबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुर्याउने बताउनुहुन्छ । प्रधानमन्त्री देउवाको भारत भ्रमण राम्रो अवसर भएको भन्दै दुई देशबीच रहेका विभिन्न समस्या समाधानका लागि एउटा सुरुवात हुनसक्ने उहाँले बताउनुभयो । ‘यो राम्रो अवसर हो । दुई प्रधानमन्त्रीबीच भेट हुँदा समस्यालाई समाधान गर्नको निम्ति एउटा सुरुवात गर्ने बाटो खुल्न सक्छ,’ हिमालय टाइम्ससँग उहाँले भन्नुभयो, ‘दुई देशको सम्बन्ध राम्रो पार्न यसले मद्दत गर्दछ । हाम्रो सम्बन्धको स्थिति कस्तो छ । राम्रो र सुधार गर्नुपर्ने पक्ष, थाती रहेका इत्यादि विषयमा दुई पक्षका बीचमा सामान्य कुराकानी हुनसक्छ ।’
हाम्रा सम्बन्धहरूलाई अगाडि बढाउनको निम्ति यो भ्रमणले मद्दत गर्ने उहाँको भनाइ छ । उहाँले भ्रमणले रोकिराखेका र समस्या भएका विषयमा वार्ता र संवादको वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो । ‘भ्रमणले वित्तीय तहमा, कर्मचारी र मन्त्री तहमा कुन स्तरमा कुराकानी गर्नुपर्छ भन्ने वातावरण तयार पार्न सक्छ । समस्या समाधान गर्नको निम्ति एउटा सुरुवात गर्ने बाटो खोल्न सक्छ,’ उहाँले भन्नुभयो, ‘संयन्त्रहरूका बैठक बसिरहेका छैनन् । संयन्त्रहरूलाई सक्रिय पार्नुपर्छ । जस्तै सीमासम्बन्धी संयन्त्र छ । बैठक बसिरहेको छैन । यो राम्रो अवसर हो ।’
भ्रमणका क्रममा सीमा समस्या, डुबान र लगानी भित्र्याउने विषयमा समेत कुनै न कुनै रूपमा उठाउनुपर्ने उहाँले बताउनुभयो । यी विषयलाई सम्बोधन गर्नेतर्फ जानुपर्छ भन्ने समझदारी भ्रमणका क्रममा बनाउनुपर्ने उहाँको भनाइ छ । ‘कुन शब्द र भाषामा कसरी उठाउने आ–आफ्ना शैली होलान् । लिपुलेक, लिम्पियाधुरामा पनि समस्या छ । इपिजीको प्रतिवेदन नबुझेको समस्या छ । डुबानका समस्या छन्,’ उहाँले भन्नुभयो, ‘लगानी भित्र्याउनुपर्र्नेे आवश्यकता छ । अन्य थुप्रै विषय छन् । यी कुराहरू यो अथवा त्यो रूपमा उठ्लान् । यिनलाई सम्बोधन गर्नेतर्फ जानुपर्छ भन्ने समझदारी त बनाउनुपर्ला नि ।’




















