काठमाडौं:= रिपोर्टर्स क्लब नेपालले २४औँ वार्षिकोत्सव मनाएको छ । बिहीबार काठमाडौंको याक एण्ड यती होटलमा एक विशेष समारोहबीच क्लबले २४औँ वार्षिकोत्सव मनाएको हो । क्लबले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरेका विभिन्न व्यक्तिहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाबाट सम्मान गरिएको छ ।
यस अवसरमा डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यलाई नेपालको पे टिभी उद्योगमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो । यस्तै, बोधी टेलिभिजनका समाचार प्रमुख चन्द्र बानियाँ, इञ्जिनियर प्रशान्त झा, इञ्जिनियर अशोक धमला, समाजसेवी एवं व्यवसायी हरिशरण सुवेदी, समाजसेवी एवं व्यवसायी राममणि न्यौपाने, नेपाली रेडियो नेटवर्कका प्रवन्ध निर्देशक अमृत अधिकारी, शिक्षासेवी दीपक पुडासैनी, नेपाल टेलिकम, रिपोर्टर्स क्लब नेपालको झापा शाखा लगायतलाई सम्मान गरिएको छ ।
यस वर्षको एक लाख रुपैयाँ राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरेको छ । त्यस्तै, एक लाख रुपैयाँ राशिकै तेजेन्द-सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार कारोबार दैनिकका सम्पादक कुबेर चालिसेलाई प्रदान गरेको छ । यी दुवै पुरस्कार क्लबले पहिलोपटक दिएको हो ।

यस्तै, क्लबले हरेक वर्ष प्रदान गर्दै आएको पचास हजार रुपैयाँ राशिको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका सहायक प्रमुख उपसम्पादक कुलचन्द्र न्यौपानेलाई प्रदान गरिएको छ ।
त्यस्तै, जनही पच्चिस हजार रुपैयाँ राशिका वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका एसोसिएट एडिटर सुरेश यादव, शहीद जगतप्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार राससका संवाददाता कृष्णराज गौतम, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार विमापोष्ट अनलाइन पोर्टलका सम्पादक नवराज न्यौपाने, उमासिंह स्मृति पत्रकारिता पुरस्कार ग्यालेक्सी फोर के की वरिष्ठ राजनीतिक संवाददाता सिर्जना घिमिरे र बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार राससका फोटो पत्रकार रोशन सापकोटालाई प्रदान गरिएको छ।
त्यसैगरी, सरोकार टेलिभिजनका सम्पादक रवि प्याकुरेल पच्चिस हजार राशिको रिपोर्टर्स क्लब पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । त्यसैगरी, क्रियाशील महिला पत्रकारिता पुरस्कार–२०७८ बाट रेडियो नेपालकी पत्रकार रीता बुढाथोकी, उत्कृष्ट युवा पत्रकारिता तथा क्रियाशील युवा पत्रकारिता पुरस्कारबाट इमेज खबर डटकमका प्रधान सम्पादक रामेश्वर सापकोटा, प्राइम टाइम्स एचडीका न्युज एडिटर बालकृष्ण शर्मा, राजधानी दैनिकका राजनीतिक ब्युरो प्रमुख महेश गौतम, न्युज एजेन्सी नेपालका क्यामेराम्यान सुरज प्रधान, प्राइम टाइम्स एचडीका रिपोर्टर तथा प्रोग्राम प्रिजेन्टर डेबिड पाण्डे, कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजा, नेपाली रेडियो नेटवर्कका न्युज रिपोर्टर डाकमान राई र हिमालयन टेलिभ्वाइसका क्यामेरा म्यान सुप्रिम बखुन्छे जनही १० हजार रुपैयाँ राशिको पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायतले क्लबलाई शुभकामना दिँदै आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
क्लबका सभापति ऋषि धमलाले क्लब सबैको साझा मञ्चको रूपमा स्थापित भएको भन्दै आगामी दिनमा पनि यो भूमिकालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले सबैलाई समेटेर अघि बढेका छौँ ।’ उक्त अवसरमा प्रधानमन्त्री देउवाले क्लबको संस्थापक स्मारिका ‘महासंग्राम ः २०७९’ पनि विमोचन गर्नुभएको थियो ।




















